रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ। रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो।
बालिका हत्याको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङ पक्राउ परेकी छिन्। सपनाले प्रहरीसमक्ष सुमिनाको अपहरण पछि हत्या गरेको स्वीकार गरिसकेकी छिन्।
कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको हो। बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो।
बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले चाउचाउ दिएर फकाएर उनले बालिकाको अपहरण गरेकी हु्न्। उनले सुमिनाको मुन्द्रा फुकालेपछि घरमा भनिदिने डरले घाँटीमा डोरीले कसी हत्या गरी लुकाउन खोजेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदीले बताए।
ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार (२१ मंसिर) मा विद्यालय गएकी थिइन्। उनी साँझसम्म घर फर्किनन्। एक जना अपरिचित महिलासँग बालिकालाई देखेको हल्ला सुनेपछि सुमिनाको परिवारले अस्थायी प्रहरी चौकी ग्राङमा उजुरी दिए।
‘मंगलबार बालिकाको शव भेटियो र अभियुक्तलाई अघि मात्रै पक्राउ गरिएको हो,’ डिएसपी सुवेदीले भने, ‘सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।’
यसअघि पनि सपना सुन चोरीसम्बन्धी मुद्दामा तीनपटकसम्म पक्राउ परिसकेकी छिन्। एक वर्ष बाल सुधारगृह भक्तपुरमासमेत बसेर सपना निस्केकी थिइन्।