प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते गरिने सरकारसवरुद्धको विरोध प्रदर्शनलाई विशाल बनाउने तयारी गरेको छ। सरकारका पछिल्ला काम कारवाहीहरु प्रति असन्तुष्ट बनेको कांग्रेसले यस अघि नै मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार विरुद्धको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ। त्यसका लागि कांग्रेसले नेतालाई विभिन्न स्थानमा खटाउने तयारी गरेको छ।
बिहीबारको बैठकमा कांग्रेसले प्रदर्शनबारे प्रारम्भिक छलफल गरेको एक नेताले जानकारी दिए। उनका अनुसार आन्दोलनका थप कार्यक्रमहरुबारे पनि क्रमिक रुपमा नेताहरुबीच छलफल हुनेछ।
तनहुँमा मंसिर १७ गते सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरी दमनकारी व्यवहार देखाएको कांग्रेसको ठहर छ। कांग्रेसले नेताहरुले पौडेलको पक्राउ सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको नियोजित कदम भएको भन्दै त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै आएका छन्।
त्यस्तै, सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र वेथितिविरुद्ध विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जानकारी दिएको छ।
यसैबीच नेपाली कांग्रेले मंसिर २९ गतेको प्रदर्शनमा आफ्ना सबै नेता कार्यकर्तालाई सडकमा आउन आह्वान गरेको छ। सरकार अधिनायकवाद तर्फ अग्रसर भएको भन्दै यसबारेमा सबै जनता सचेत हुनु पर्ने कांग्रेसले बताएको छ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले मंसिर २९ गतेको प्रदर्शन सरकारका गलत कार्यहरु र वेथितिविरुद्ध भएको बताउँदै त्यसमा सहभागि हुन सबैलाई आग्रह गरेका छन्।