प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते (मंगलबार) ओली सरकारविरुद्ध विशाल विरोध प्रदर्शन गर्ने भएको छ। सरकारका पछिल्ला काम कारवाहीहरु प्रति असन्तुष्ट बनेको कांग्रेसले यस अघि नै मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार विरुद्धको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ।
त्यसका लागि कांग्रेसले नेतालाई विभिन्न स्थानमा खटाउने तयारी गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।
मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।