झापाको काँकरभिट्टाका व्यवसायीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाना खुलाउन माग गर्दै प्रदर्शन गर्ने भएका छन्। कोरोना प्रकोपलाई दृष्टिगत गर्दै बन्द गरिएको नाका खुलाउनुपर्ने मागसहित काँकरभिट्टाका स्थानीयबासी र व्यवसायीले आइतबार प्रदर्शन गर्ने भएका हुन्।
नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाका १० महिनादेखि बन्द रहँदा मेचीनगर नगरपालिकाबासी गम्भीर आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएकाले आन्दोलन शुरु गर्ने अवस्थामा पुगेका हुन्।
काँकरभिट्टाका व्यवसायी एवं सामाजिक अगुवा रामबहादुर तामाङले महामारीको कारणले बन्द रहेको काँकरभिट्टा नाका खुलाउन मागसहित प्रदर्शन र कोणसभाको आयोजना गरिएको जानकारी दिएका छन्।
‘सम्पूर्ण व्यवसायी, स्थानीयबासीसहितको प्रदर्शन आइतबार बिहान ९ बजे काँकरभिट्टामा गर्ने तय भएको छ, कोणसभा र बृहत् हस्ताक्षर अभियानसँगै अन्तर्राष्ट्रिय नाका खोज्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ तामाङले भने।
झापाको काँकरभिट्टा र भारतको पानीट्यांकी बजारमा नेपाली र भारतीय नागरिकको आवतजावत हुन्छ। नेपालीहरू सामान खरिदका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन्।
साथै, झापाका मुख्य बजारहरूमा दार्जीलिङ, सिक्किम, सिलिगढी र आसामदेखि भारतीय नागरिकहरू भ्रमण र किनमेलका लागि आउने गरेका छन्।