चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुवात गरेको छ।
बागमती टिमलाई सुपर ओभरमा पराजित गर्दै नारायणीले विजयी शुरुवात गरेको हो। सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रन मात्र बनाउन सक्यो। यसअघि बागमती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता शुरु भएको हो। प्रतियोगितामा तीन टिम बागमती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए।
बागमतीको कप्तानी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले गरेका छन्। यस्तै नारायणीको कप्तानमा सुवास खकुरेल रहेका छन्। यसअघि पूर्व राष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका हुन्। राप्तीको कप्तानमा विनोद भण्डारी छन्।
प्रतियोगिताको दोस्रो खेलमा भोलि बागमती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन्। शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको बागमती प्रदेश खेलकूद परिषद्को सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गरेका थिए।