कोरोना प्रकोपले सिंगो देश आक्रान्त छ। सरकारले एकपछि अर्को काण्डमा जेलिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका कमजोर रहेको टिप्पणी भइरहँदा पछिल्लो समय सो पार्टी आन्दोलनमा होमिएको छ। सरकारको अकर्मन्यता र नागरिक पंक्तिमा निराशा आउँदा पनि कांग्रेसले किन सशक्त प्रतिपक्षीको भूमिका खेल्न सकेन? र, अहिले केका लागि आन्दोलन शुरु गरेको हो भन्ने विषयमा नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडासँग नेपाली पब्लिकका लागि आयुश चौलागाईले गरेको संवादः
कोरोना प्रकोपमा सरकारलाई सशक्त दबाब दिन नसकेको नेपाली कांग्रेस किन अहिले आएर आन्दोलनमा होमिएको हो? र, मंसिर २९ गतेको देशव्यापी प्रदर्शनको तयारी कसरी अघि बढ्दै छ?
–मुलुक वास्तवमै अप्ठ्यारो अवस्थामा छ। जनताले सरकारको भएको आभास गर्न पाएका छैनन्। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। जनताका कुनै पनि समस्याको बारेमा सरकारलाई चासो छैन। तीन वर्ष बितिसक्दा सरकारले जनताको पक्षमा अन्य कुनै पनि दलसँग सरसल्लाह गरेको छैन। प्रधानमन्त्री आफ्ना नातागोतालाई रिझाउन तल्लीन हुनुहुन्छ। मुलुकको विषयमा प्रधानमन्त्रीलाई चिन्ता भएन। कोभिड–१९ प्रकोपले मुलुकलाई थला पारेको छ। त्यसको न्यूनिकरण र समाधानका बारेमा नेपाली जनता र अन्य राजनीतिक दलहरूसँग छलफल भएन। यो प्रदर्शन सरकारको अकर्मण्यताका कारण निस्किन लागेको हो।
जनताको आवश्यकता र आकांश पूरा गर्न नसकेको कारण निस्किन लागेको हो। बीपी कोइरालाले १८ महिनाको कार्यकालमा गरेका काम हेर्न सकिन्छ। शेरबहादुर देउवाले आफ्नो कार्यकालमा गरेको काम हेर्न सकिन्छ। कांग्रेसले ४८ सालेदेखि ५१ सम्म गरेको काम हेर्न सकिन्छ। ४८ देखि ५१ सम्मलाई नेपालको इतिहासमा स्वर्णीमकाल भनेर भनिन्छ। त्यसबेला राम्रा कामहरूको जग निर्माण भएका थिए। तर, यो सरकारले तीन वर्षको अवधिमा एउटा पनि काम जनताका लागि गरेन। व्यक्तिका लागि मात्र काम गर्यो। आपसी लुछातानीमा सरकार केन्द्रित भएकाले देशव्यापी रुपमा सरकारकाविरुद्ध एउटा आँधीबेरीको आन्दोलन शुरु हुन लागेको हो।
तीन वर्षको अवधि देशभर कांग्रेसका आधा दर्जनभन्दा बढी कार्यकर्ताको हत्या भयो। तर, मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गर्दै पक्राउ गरेपछि मात्रै कांग्रेसले आन्दोलनको थाल्यो। यस्तो किन?
–हत्या र आतंकविरुद्ध नेपाली कांग्रेसले जहिल्यै पनि आवाज उठाएको हो। हजारौं मान्छे मारेर सत्तामा जान्छु भन्ने माओवादीलाई पनि हामीले हत्याको राजनीतिबाट शान्तिको राजनीतिमा ल्यायौं। हामी अहिले पनि हत्याको राजनीतिको विरोध गरिरहेका छौं। सरकारले यतिका वर्ष यस्तै नराम्रो काम गरिरह्यो। शुरुमा हामीलाई कहिलेकाही नजानेर गल्तीहरू हुन्छन् भनेजस्तो लागेको थियो। तर, जानीजानी गल्ती गर्न लागेपछि सहने अवस्था हुँदैन। कहिलेकाही नजानेर, नबुझेर गल्ती कमजोरीहरू हुन सक्छन्। त्यसका लागि हामीले समय दियौं। तीन वर्ष भनेको झण्डै ६० प्रतिशत समय हो ५ वर्षको अवधिमा।
६० प्रतिशत समयमा हेर्दा ओलीका नाता पर्नेहरू कोही राष्ट्रपति भए होलान्, कोही मन्त्री भए होलान्, कोही राजदूत भए होलान्, कोही प्रधानमन्त्रीका वरिपरि बस्न पाए होलान्, कोही उहाँको पक्षमा नारा लगाउनेहरू जिएम भए होलान्, संस्थानका हाकिम भए होलान्। तर, अब बुझ्नुपर्ने बेला आएको छ, विचौलियाहरूले घेरिएको सरकारबाट होइन, अब देशको संविधानले चिनेको मानिसबाट देश चल्नुपर्छ। हामी यही धारणामा अघि बढेका छौं। एउटा राजनीतिक दल जसले राणा शासनको अन्त्य गर्यो, जसले पञ्चायतको अन्त्य गर्यो, जसले माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो, जसले बहुदल नमान्ने एमालेलाई बहुदलवादी बनायो, लोकतन्त्रवादी बनाएर सरकारमा पुर्यायो, त्यो पार्टीका नेताहरूलाई हिँड्दा पनि समातेर थुन्न थालेपछि हामी कति सहेर बस्ने? अब यो सहनुको सीमा रहेन भन्ने लाग्यो। त्यसैले कांग्रेसले आन्दोलनको शुरुवात गर्न लागेको हो।
महामारीले देश आक्रान्त भएका बेला नबोलेको कांग्रेस अहिले आन्दोलन गर्न सक्ने अवस्थामा कसरी आइपुग्यो?
–सरकार बनेकै अर्को वर्ष हामीले भ्रष्टाचार, महँगी, तस्करी र गुण्डागर्दीविरुद्ध देशभर प्रदर्शन गरेका थियौं। कांग्रेसले सरकारले गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाएको छ। यसपटक चाहिँ बेला भयो, जनताको पक्षमा काम नभएपछि अब सहन सकिँदैन भनेर कांग्रेस जागेको हो। अब यो आन्दोलन एउटा निष्कर्षमा देशलाई पुर्याउनेतर्फ केन्द्रित हुन्छ।
सरकारले कोरोना प्रकोपको उचित व्यवस्थापन गरेको छैन। उपसभामुख र अन्य संवैधानिक निकायमा नियुक्तिको अन्यौलता कायमै छ, खोई त कांग्रेसले दबाब दिएको?
–उपसभामुखको नियुक्ति प्रतिपक्षले गर्ने होइन। हाम्रो भूमिका २५ प्रतिशत मात्रै हुन्छ। सरकारले संविधानले दिएको कुरा पनि गर्दैन भने त्यसको दोस प्रतिपक्षीले लिन सक्दैन। संविधानले प्रतिपक्ष दलको नेतालाई संवैधानिक आयोगमा राखेको छ। सभामुखलाई राखेको छ। उपसधामुखलाई राखेको छ। उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म र उपसभामुख नहुञ्जेलसम्म संवैधानिक परिषदको बैठक बसेर कुनै पनि संवैधानिक निकायको नियुक्ति गर्नु हुँदैन। हामीले भागबण्डा खोजेका होइनौं। हामीले संविधानले दिएको अधिकार प्रयोग गरेका हौं। संविधानको व्याख्या गरेका हौं। संविधानलाई कार्यान्वयन गर्न खोजेका हौं। एउटा उपसभामुखको निर्वाचन गर्न नसक्ने सरकारले संसदलाई थाँती राखेर अहिले संसद पनि चलाउन नसक्नेले अरु काम गर्न सक्छ भन्ने विश्वास छैन। त्यसैले छिटोभन्दा छिटो उपसभामुखको निर्वाचन गर्नुपर्यो। अनि त्यसपछि मात्र संवैधानिक आयोगका निकायमा नियुक्ति लागि संवैैधानिक परिषदको बैठक बस्नुपर्छ। हाम्रो धारणा छ यही हो।
तर, सरकारले भ्रष्टाचार र अनियमितता गर्यो। जनताको पक्षमा काम गरेन भन्दैगर्दा त्यसमा नेपाली कांग्रेसले सरकारलाई दबाब दिन नसकेको चाहिँ स्वीकार्नुहुन्छ?
–तपाईलाई अनुरोध गरौं, मिडियासम्बन्धी विधेयक आएर प्रेस स्वतन्त्रतामाथि आँच आउँदा कसले विरोध गर्यो? कांग्रेसले होइन? गुठी विधेयक आउँदा कसले विरोध गर्यो? कांग्रेसले होइन? निर्मला हत्या प्रकरणमा कसले आवाज उठायो? नेपाली कांग्रेसले नै उठायो। हिजो सडकमा भएका मुभमेन्ट तपाईले देख्नुभएन? अहिले औषधि किन्दा भएको भ्रष्टाचारमा आवाज कसले उठाएको? त्यो पनि कांग्रेसले नै हो। हामीले सरकारलाई सच्चिन पटक–पटक दबाब दिएका छौं। तर, यिनै आवाज उठ्छन् भनेर संसद नै स्थगन गरिएको छ। सबै विषयहरू हामीले उठाएका छौं। तर, हामीले ढुङ्गामुढा गरेर टेलिफोनका टावर तोडेर, टायर बालेर र संसदभित्र कुर्सी तोड्ने काम गर्दैनौं। गलत कामविरुद्ध आवाज निरन्तर उठ्छ। झन् भ्रष्टाचारविरुद्ध चाहे वाइडबढीका कुरा हुन्, चाहे ओम्नीका कुरा हुन्, हेलिकप्टर प्रयोग गरेर केक काट्न गएका कुरा हुन्, चाहे गोकर्ण रिसोर्टका कुरा हुन्, चाहे दरबारमार्गको जग्गा वितरण गरेका कुरा हुन्, सबै कुराको हामी आवाज उठाउँछौं। उठाएका छौं।
त्यति मात्र होइन, सरकारले गरेका अर्बौं–अर्ब रुपैयाँको भ्रष्टाचारका कुरामा फोरजीदेखि बुढीगण्डकीसम्मका कुराहरूको छानवीनका लागि कांग्रेसले आवाज उठाएको छ। सरकारको हिम्मत छ भने को–को छन् दोषी कारबाही गरोस्। सरकार आफैं भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण छानवीनको आँट गर्दैन। यसको मतलब प्रतिपक्ष भूमिका कमजोर भएको होइन। तर, जनताले चाहे जति सशक्त नभएको होकि भन्ने चाहिँ आभास भएको छ।
२९ गतेको जनप्रदर्शनपछि सरकारलाई दबाब पुग्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
–यो सरकार आफ्नै पार्टीका साथीहरूले बालुवाटारमा गएर देउसीभैसी खेल्दा त दान नदिने। देख्नुएकै छ। सचिवालयदेखि स्थायी समितिले अरुका कुरा त सुन्दै सुन्दैन। संविधानलाई कार्यन्वयन गर, संविधानको बाटोभन्दा बाहिर नजाउ, जनताका इच्छा आकांश पूरा गर, यो कोभिडमा पनि भ्रष्टाचार नगर, जनतालाई मर्नबाट बचाउ भन्ने हाम्रो माग हो। हामी यसलाई निरन्तर आवाज उठाउँछौं। यस्तो आवाज नसुन्नेहरूको कुन गति भएको छ, हामीले देखेका छौं। हामीले हिटलरको गति देखेका छौं, मुसोलिनीको गति देखेका छौं। सद्दान हुसेनको गति देख्यौं। धेरै ठूला तानाशाहको गति देख्यौं। केपी शर्मा ओलीजी त बरा आफ्नै पार्टीको बहुमत नभएर बालुवाटारबाट कहिँ निस्कन नसक्ने अवस्थामा हुनुहुन्छ। पार्टी अफिस त जान नसक्ने मान्छेको गति के हुन्छ, कति दिन लाग्छ र! हेर्दै जानु होला।