नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि अपील गरेको छन्। आइतबार प्रेस वक्तव्य जारी गर्दै देउवाले मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्त्वपूर्ण रहेको बताएका हुन्।
‘यसमा सक्रिय सहभागिताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरूसँगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।
प्रतिपक्षका रुपमा नेपाली कांग्रेसले निरन्तर शालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको उल्लेख गर्दै देउवाले वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रुपमा बुझ्ने धृष्टता गरेको र अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको टिप्पणी गरेको बताएका छन्।
‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो, नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत् सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो,’ देउवाले भनेका छन्, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ, त्यसकै शुरुआत हो भोलिको सांकेतिक प्रदर्शन।’
प्रदर्शनको तयारीमा जुटेका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन देउवाले अपील गरेका छन्। ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरूलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।
सभापति देउवाले जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ? भन्दै प्रश्न गरेका छन्।
‘शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरूमार्फत् अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्रजिम्मेवार जवाफ के हुनसक्छ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ?,’ देउवाले भनेका छन्।
तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी रहेको देउवाको ठहर छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले एशियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रुपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको देउवाको टिप्पणी छ।
कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुँदा सयौंको मृत्यु भएको र हरेक नेपालीले मृत्युको संत्रास भोग्नु परेको तर्क गर्दै देउवाले कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको बताएका छन्।
‘चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ, यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु बिल्कुलै स्वाभाविक छ,’ देउवाले भनेका छन्।
कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज, खेतीका बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौं किलोमिटर पैदल हिँडेर गाउँ फर्किएको श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीसम्म, रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदूर सम्भावना नदेखिरहेको युवा, शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिलादेखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेको देउवाले स्मरण गरेका छन्।
‘(उनीहरूले) प्रश्न बोकिरहेका छन् र आक्रोश पोखिरहेका छन्, यी सबैको पीडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ, नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ,’ देउवाले भनेका छन्।
नेपाली कांग्रेस मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल हो भन्दै देउवाले अहिले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा कांग्रेस गम्भीर रहेको प्रष्ट पारेका छन्।
‘भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ, भोलिको प्रदर्शनमा एकता, जाँगर र नवीन उत्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरूसँगै समस्त लोकतन्त्रवादीमा फेरि पनि हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।