कुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ। सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला। हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा नआउन सक्छ। समयसापेक्ष नबन्दा र समाजमा चलनचल्तीको काम नहुँदा पनि पेसामा आबद्ध भएर काम गर्न गाह्रो हुन्छ।
यसका साथै सबै कुरा दाहिना हुँदाहुँदै पनि कहिलेकाँही आर्थिक सङ्कटका कारण मान्छे आफ्नो पेसा परिवर्तन गर्न बाध्य हुनुपर्छ। गरिबीकै कारण आफ्ना सोखका काम चटक्कै छाडेर जीवन धान्नतिर अनेकन गर्नुपर्छ। यहाँस्थित सन्दकपुर गाउँपालिका–१ की सलिना राईलाई यस्तै यस्तै लाग्छ। सलिनाको सोख चित्रकार बन्ने हो।
चित्रकार मात्र होइन, कुशल चित्रकार बन्ने हो। यसैबाट जीवनयापन गर्ने र सबैसामु चिनिने। चित्रकार बन्नकै लागि सलिनाले धेरै सङ्घर्ष गरे। अझै पनि गर्दै छन्। विद्यालय होस् वा अरु कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन सलिनाको चित्र। सधैँ प्रथम भएकैले गर्दा सलिनालाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो। उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो।
परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले सलिनाका चित्रमा निखारता त आउँदै गयो तर अर्थोपार्जन सोचेजस्तो भएन। गाउँको बसाइ। पूर्णरुपमा चित्रकलामा खट्न नपाइने। यसैले चित्रकलाको पेसा सङ्कटमा पर्दै गयो। सोचे जस्तो भएन। कक्षा ५ देखि चित्र सिकेकी सलिना, कक्षा ८ पुग्दासम्म घरपरिवारको आँखामा चित्रकारको छवि बनाइसकेका थिए। विद्यालयको अध्ययन सकेर केही समय सलिनाले कला सेन्टरमा चित्र बनाउन सिके।
यसपछिका मेनेतले सलिनाको चित्रकलाप्रतिको मोह यति बढ्यो कि उनले यो पेसाको विकल्प खोज्नै सकेनन्। विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो। सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन। जब कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए।
उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो। त्यतिकैमा सलिनाले एक दिन युट्युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देखे। चित्रकलाकी पारखी सलिनालाई हस्तकला (हेण्डिक्राफ्ट) मा पनि आकर्षण बढ्यो। निरन्तर खटेर सलिनाले हेण्डिक्राफ्ट बनाउन थाले।
शुरुमा चिक्त बुझ्दो नबने पनि समयान्तरमा सोचेझैँ हुन थाल्यो। पछिल्लो समय सलिनाले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ। ‘हेण्डिक्राफ्ट चाहिँ धेरैले किनेर नै लग्छन्। केही कमाइ पनि हुन्छ, सलिना भन्छन्, ‘कला सम्मानित पेसा हो तर बाँच्न गाह्रो हुँदो रहेछ।’ सलिनाले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेका छन्।
ती सामग्री बनाउन खर्चिलो पनि छ। अहिले सलिना स्नातकस्तरको अध्ययनमा छन्। पढाइपश्चात काठमाडौं पसेर चित्रकलामा होमिने उनको विचार छ। अनेक रङ एकै ठाउँमा मिलाएर सलिना चित्र कोर्छन्। अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री। यद्यपि यो पेसाले सलिनाको जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन तर पनि उनी सङ्घर्षरत छन्।
चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन, कुनै काम सहज छैन। ‘एउटै चित्र बनाउन तीन/चार दिन लाग्छ। धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन’, सलिना भन्छन्, ‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो। पहिले काट्यो अनि जोड्यो।
त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ।’ यति दु:ख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहिँ सलिनालाई विरक्त लाग्छ। अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु। यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको सलिनाको दु:खेसो छ।