वर्षौदेखि एउटै छानामुनि एकअर्काको सहारा बनेर बसेका थिए। फुपू र भदा। उनीहरू व्यवहार मिल्थ्यो। र, खानपान पनि। कतिसम्म भने एउटै बोतलमा किनेर ल्याएको रक्सी पनि उनीहरू मिलेर खान्थे। ‘सेलिब्रेसन’ गर्थे।
र, रक्सीले लठ्ठ भएपछि उनीहरूको झगडा र पोल खोलाखोल शुरु हुन्थ्यो। रातिभरि झगडा गर्ने फुपू भदाको व्यवहारले छिमेकी र गाउँले आजित थिए। नहुन पनि किन? फुपू र भदाको आपसी झगडा यति चर्को थियो कि, सुन्नेलाई पनि लाजै हुन्थ्यो।
तर, शनिबार झगडाले अर्कै रुप लियो। रक्सीकै नसामा डुबेका फुपू र भदा आक्रमण–प्रत्याक्रमणमा उत्रिए। र, भदाले आफू हातले फुपूलाई सदाका लागि बिदा गरे।
घटना कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा भएको हो। फुपू र भदाको झगडा उत्कर्षमा पुग्दा दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको हत्या भएको हो।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सुशीलाका भदा तोरणबहादुर खड्कालाई पक्राउ गरेको छ। उनीहरू चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएका छन्।
कसरी भयो भदाबाट फुपू हत्या?
तोरणबहादुरका बुवा सुशीलाका माइती हुन्। बाबु गुमाएका भदालाई सुशीलाले सानैदेखि सहारा दिएर लालनपालन गरेकी हुन्। पछिल्लाे समय उनीहरू चन्द्राैटामा डेरामा बस्दै आएका थिए।
फुपू–भदा दुवै जनासँगै रक्सी खाने र झगडा गरिरहने भएकाले पटक–पटक स्थानीयबासीले प्रहरीमा उजुरी गरेका थिए। शनिबारकाे दिन पनि उनीहरू रक्सी जाेहाेमा लागे।
सुशीला दिउँसोदेखि नै रक्सीले मातेर बसेकी थिइन्। तोरणबहादुर दिउँसाे चार बजेतिर बजार डुल्न निस्किए। चामल, पैसा चोरेर र मागेर गुजारा चलाउँदै आएका तोरणबहादुर नजिकैकाे एउटा होटलमा पुगे। र, २० रुपैयाँ मागे।
होटलका साहुले ‘केही काम गर्दैनस्, के पैसा दिनु’ भनेपछि उनले ‘आजदेखि म यहीँ काम गर्छु’ भनेर साढे ८ बजेसम्म भाँडा माझ्ने र कोठा सफा गर्ने काम गरेर घर फर्किए।
‘४ बजेतिर नै काउलीको तरकारी पकाएर आएको छु, फुपूले भात पकाउँछिन्’ भनेर मासुको झोल लिएर उनी होटलबाट घर फर्किए।
घरमा पुग्दा फुपू ओछ्यान लगाउन लागेकी रहिछन्। एउटै कोठा बस्ने फुपू भुँईमा र भदा खाटमा सुत्ने गरेका थिए। ‘फुपू मैले मासुको झोल ल्याएको छु, ५० रुपैयाँ ल्याउनु त रक्सी खाँउ, अनि तिमी भात पकाउ’ ढोका निर पुगेर तोरणबहादुरले भने।
फुपूले तेरो बाउले राख्न दिएको छ र? ‘बाउ टोकुवा’ भनेर जवाफ फर्काएपछि भदाको चित्त दुख्यो। झगडा पर्दा फुपूले सधैं उनलाई टोकुवा भन्ने गर्थिन्।
ताेरणबहादुरका बाबु सानैमा बितेपछि उनीमाथि ‘बाबु टाेकुवा’काे आराेप फुपूले लगाउन थालेकी हुन्।
प्रहरीमा ताेरणबहादुरले दिएकाे बयानअनुसार उनीहरूबीच सामान्य विवाद भएपछि फुपू घरबाट बाहिर निस्किइन्। त्यसैक्रममा भदाले धकेलिदिदाँ उनी भुँईमा लडिन्।
त्यसपछि आक्रोशित बनेकी फुपूले भुँईको इँट्टा टिपेर तोरणबहादुरलाई हान्न खोज्दा उनको हातबाट इँट्टा झर्यो। रक्सीको तालमा रहेका तोरणबहादुरले त्यही इँट्टाले फुपूलाई हाने।
तोरणबहादुर त्यतिमै रोकिएनन्। पीडाले छट्पटाएर चिच्याउन थालेकी सुशीलालाई उनले सिलौटाले टाउकोमा हाने।
टाउकोमा गहिरो चोट लागेकी सुशीलाले घटनास्थलमै अन्तिम सास फेरिन्। प्रहरीको अनुसार महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ।
प्रहरीले हत्याकाे अभियाेगमा ताेरणबहादुरलाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनाकाे अनुसन्धान र कानूनी कारबाहीकाे प्रक्रिया शुरु भएकाे छ।