सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी पुस १ गते बस्ने गरी सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आईतबार बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।
नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अब अर्को बैठक पुस १ गते १ बजे बस्ने छ।
पूर्व राजदूत एवं पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना भाइरसको कारण मृत्यु भएको थियो। संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार नै आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए।
आजकाे बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनितिक प्रश्ताव पेश हुने भएको थियो।
यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। प्रचण्डले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने भन्दै प्रधानमन्त्रीले स्थायी कमिटीमा पत्र पठाएका थिए।