विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए। तत्कालै मानवसेवा आश्रमकी सुशीला केसी नेतृत्वको टोली उद्धारका लागि खटियो। महिलाको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर कीरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुश्किल पर्ने अवस्थाबाट ती महिलालाई मानव सेवा आश्रमले उद्धार गर्यो।
तत्कालै उनको भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो। घाउ त एउटा समस्या थियो, उनी मनोरोगीसमेत थिए’, तत्कालीनावस्था स्मरण गर्दै केसीले भने, ‘विस्तारै उपचार, माया, प्रेम, थेरापी र काउन्सिलिङ गर्दा उनको जीवनमा आमूल परिवर्तन आयो।’ ती महिलाको नाम गीता मानव राखियो। उनी स्वस्थ त भइन तर बोलेको भाषा बुझ्न सकिएन। आश्रमकी आमा खिमा काफ्लेले उनको भाषा बङ्गाली भनेर पत्ता लगाएन। विस्तारै जानीनजानी बङ्गाली बोलेर उनको ठाउँठेगाना पत्ता लगाउने क्रममा उनी बङ्गलादेशी यकिन गरिएको काफ्ले सुनाउछिन्।
बस्दाबस्दै गीता अहिले थोरै नेपाली भाषा बुझ्न थाल्नुभएको छ भने हिंन्दीमा समेत कुरा गरे। अहिले दुवैथरिलाई भाषा बुझ्न सजिलो भयो। बङ्गलादेशको राजधानी ढाका नजीकै घर भएका उनी पाँच सन्तानकी आमा भएको पत्ता लागेको छ। केही अघि मात्रै उनलाई नेपालस्थित बङ्गलादेशको राजदूतावासको टोलीले समेत भेटेर घर पुर्याउने आश्वासन दिइसकेको छ। गीता छिट्टै घरमा पुनस्थापित हुँदै छिन् । उनी आफ्नो परिवारसँग भर्चुअलमा नियमित कुराकानी गर्ने गरेको उनको रेखदेखमा खटिने अभियानकर्मी नीता केसी सुनाउछिन्। घरबाट घुम्न निस्कने क्रममा हराएको उनको परिवारले बताएका छन्।
उनी भारत काटेर कसरी बङ्गलादेशबाट यहाँ आइपुगीन् अझै यकिन गर्न सकिएको छैन। पहिले गीतालाई रेखदेख गर्नुपथ्र्यो तर अहिले उनले नै अन्य असहायको रेखदेख गर्न थालेकी छिन। आश्रमको एउटा सदस्य नै बनेकि गीतालाई घर पठाउने आश्रमलाई मन थिएन तर उनको परिवारको खुशीका कारण पुन:स्थापित गराउन लागिएको छ।
केहीअघि काठमाडैंबाट उद्धार गरिएका अर्का व्यक्ति पनि बङ्गलादेशबाट आएको पत्ता लागेपछि दूतावासको सहयोगमा परिवारमा पुन:स्थापित गरिएको छ। भारतबाट आएर बेवारिसे हुनेहरु भने धेरै भेटिइसकेका छन्। केही वर्षअघि भारतको पटना नजीकैको एउटा बस्तीमा आश्रम टोली पुगेरै भारतीयको पुन:स्थापना गरिएको थियो।
मर्यो भनेर माया मारेको छोरा हराएको १२ वर्षपछि घरमा आउँदा परिवारले हर्षका आँशु खसालेको थियो। अहिले पनि आश्रमको बूढानीलकण्ठ शाखामा एक विदेशी छन्। उनले प्रयोग गर्ने भाषा कुन हो भन्ने पत्ता लगाउन सकिएको छैन। कसैले कोरियाली भनिएरहेका छन् त कसैले चिनियाँ भएको बताउँदै आएका छन्। विदेशी नागरिक नेपाल घुम्न आउँदा कुनै समस्या परेर अलपत्र हुनु र रोग लागेर थलिनु त एउटा कुरा हो तर नेपालका सडकमा मनोरोगी भएर विक्षिप्तावस्थामा विदेशी नागरिकसमेत यत्रतत्र भेटिएका छन्। त्यसमा अधिकांश भारतीय फेला पर्ने भए पनि तेस्रो मुलुकका नागरिकसमेत नेपालका सडकमा अलपत्र हुने गरेको तथ्य खुलेको छ।
उनीहरु सडकमा कसरी आइपुगे भन्ने यकिन छैन तर ३३० भन्दा बढी विदेशी मनोरोगीको सडकबाट उद्धार भइसकेको आश्रमका प्रवक्ता सुमन वर्तौलाले जानकारी दिए। उनीमध्ये पाँच जना तेस्रो मुलुकका छन् भने अन्य सबै भारतीय हुन्। तीमध्ये तीन बङ्गलादेशीसहित ४८ जनाको पारिवारिक पुनःमिलन भइसकेको छ। हाल आश्रममा रहेका एक हजार १०० असहायमध्ये १९८ विदेशी रहेको जनाइएको छ। विसं २०६९ देखि सडकमा रहेका मनोरोगी एवं बेसहाराको उद्धार गरी संरक्षण दिँदै आएको आश्रमले अहिलेसम्म झण्डै ७०० व्यक्तिको परिवारमा पुनःमिलन गराइसकेको छ। पछिल्लो समयमा सरकारले आश्रमसँग सहकार्य गर्दै आगामी सालभित्र मुलुकलाई नै सडक मानवमुक्त देश बनाउने उद्घोष गरेको छ।