स्पेनिस लिग ला लिगाको जारी सिजन उपाधिमा दबदबा बनाएका केही क्लबको अवस्था बिर्सनलायक छ। लिगको १० औं चरणका खेलहरु पूर्णरुपमा सकिएको छ भने केही क्लबहरुले ११ औं, १२ औं र १३ औं चरणका खेलहरुसमेत खेलिसकेका छन्।
पछिल्लो खेलमा एथ्लेटिको मड्रिडलाई पराजित गरेको ला लिगाको सर्वाधिक ३४ पटकको च्याम्पियन रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। १२ खेलमध्ये ७ खेलमा जीत निकालेको रियल मड्रिडले २३ अंक जोडेको छ। मिश्रित प्रदर्शन गरिरहेको रियलले मड्रिड डर्बीमा जीत निकालेसँगै शीर्षस्थानको एथ्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ।
एथ्लेटिकोविरुद्ध रियल विजयी भएसँगै ला लिगा उपाधि होडमा बदलाव देखिएको छ। दुई पटकको ला लिगामा च्याम्पियन रियल सोसिडाड वर्तमान अवस्थामा अंक तालिकोको दोस्रो स्थानमा छ। उत्कृष्ट लयमा रहेको सोसिडाडले १२ खेलबाट २५ अंक जोडेको छ जुन शीर्षस्थानको एथ्लेटिकोको भन्दा १ अंक कम हो।
एथ्लेटिकोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै रियलले उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिससकको छ। चौथो स्थानमा रहेको भिल्लारियलले जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको छ। १२ खेलबाट २१ अंक जोडेको भिल्लारियललाई उपाधि होडमा बलियो बन्न बाँकि खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौति छ।
त्यस्तै, सुधारेन्मुख प्रदर्शन गरिरहेको सेभिल्ला अंक तालिकोको पाँचौं स्थानमा छ। ११ खेलबाट १९ अंक जोडेको छ। बाँकि खेलहरुमा राम्रो प्रदर्शन गर्न सकेमा सेभिल्ला उपाधि होडमा थप अघि बढ्न सक्ने अनुमान गर्न सकिन्छ।
करिब एक चौथाई खेलहरु सकिँदा २६ पटकको च्याम्पियन बार्सिलोना १० खेलबाट १४ अंक जोडेर ९ औं स्थानमा छ। उपाधि दाबेदार मानिएको बार्सिलोना पछिल्लो प्रदर्शनबाट उपाधि दौडबाट टाढिएको छ। त्यस्तै ८ पटकको उपाधि विजेता एथ्लेटिको बिल्बाओ (एथ्लेटिक क्लब) ११ औं स्थानमा छ।
यसैगरी ६ पटकको च्याम्पियन भ्यालेन्सियाले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। भ्यालेन्सियाले १३ खेलबाट १४ अंक बटुलेको छ।
१० पटक च्याम्पियन बनेको एथ्लेटिको मड्रिड जारी सिजन उत्कृष्ट लयमा छ। ११ खेल खेलिसकेको एथ्लेटिकोले एक खेलमा मात्र हार बेहोरेको छ। २६ अंक जोड्दै शीर्षस्थानमा रहेको एथ्लेटिको ७ वर्षपछि पुनः उपाधि जित्ने दाउमा छ।
ला लिगा उपाधिमा दबदबा कायम गरेका टिमहरु जस्तै बार्सिलोना, एथ्लेटिक क्लब (एथ्लेटिक बिल्बाओ), भ्यालेन्सिया आदि क्लबहरु यस सिजन उपाधि दौडबाट टाढिएका छन्। तुलानात्मक रुपमा ला लिगामा यस सिजन प्रतिस्पर्धात्मक बनेको छ।
ठूला मानिने क्लबहरुको नतिजा मिश्रित आउनाले पनि ला लिगा उपाधिका बदलाव देखिएको छ। यसअघि नै उपाधिमा दबदबा बनाएका एथ्लेटिको मड्रिड र रियल मड्रिडबाहेक अरु क्लबहरु उपाधि दौडमा अघि बढ्नुले पनि ला लिगा प्रतिस्पर्धात्मक छ भन्ने सन्देश प्रवाह भएको छ।