पछिल्ला दिनहरूमा भारतीय उच्च नेतृत्वको नेपाल भ्रमण बाक्लिएको छ। नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर राजनीतिक नक्सा जारी भएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको थियो। तर, पछिल्लो समय दुई देशबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ।
भारतीय सरकारी अधिकारी तथा उच्चस्थ व्यक्तिहरुको बढ्दो भ्रमणले नेपाल–भारत सम्बन्ध पुनः मेलमिलापको लयमा फर्किएको छ। गत कात्तिक ५ गते भारतीय गुप्ताचार संस्था रअ प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए। रअ प्रमुख गोयलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता गरेका थिए।
त्यसलगत्तै कात्तिक १९ गते भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे तीनदिने भ्रमणका लागि नेपाल आए। नेपालमा रहँदा नरवणेले नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायत नेपाली सेना प्रमुखसँग भेट गरेका थिए।
गत मंसिर ११ गते भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृङ्गला नेपाल भ्रमणमा निस्किएका थिए। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए।
पछिल्ला पटक भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले नेपालमा आएका थिए। उनी मंसिर २४ गते गोरखपुरबाट नेपालको भैरहवा आइपुगेका थिए। त्यही दिन काठमाडौं आउने मनस्थितिमा रहेका चौथाइवाले मौसमका कारण फ्लाइट उड्न नसक्ने भएपछि सडकमार्गबाट काठमाडौं आउन कस्सिए। तर बाटो मर्मत भइरहेको र दुर्घटनाका कारण उनी बिहीबार विहान मात्र काठमाडौं आएका थिए। उनको नेपाल भ्रमणबारे खासै हल्लाखल्ला भएन।
काठमाडौं आइपुगे लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे। बालुवाटारको भेटमा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागि भएका थिए।
नेकपाको राजनीतिक उतारचढावबीच नेकपाका अध्यक्षसमेत रहेका ओली र भाजपाका प्रभावशाली नेता चौथाइवालेबीचको भेटलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। चौथाइवाले भाजपाका विदेश विभाग प्रमुख पनि हुन्।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बढ्दो मतभेदको समयमा चौथाइवाले नेपाल भ्रमणबाट ओलीले आफू र भारत सरकार तथा भारतीय सत्तारुढ दल भाजपासँगको सामिप्यता देखाएको अनुमान गर्न सकिन्छ।
चौथाइवालेले आफू अर्थमन्त्री तथा नेकपा महासचिव पौडेले निमन्त्रणामा काठमाडौं आएको जनाएका छन्। चौथाइवालेको नेपाल भ्रमण नेकपा र भाजपाको अन्तर पार्टी सम्बन्ध सुधारमा पनि महत्त्वपूर्ण भएको मानिएको छ।
तर, अचम्मको कुरा नेपालमा रहँदा चौथाइवालेले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भेट गरेनन्। त्यतिमात्र हैन उनको नेपाल भ्रमणमा र नेकपा नेतासँगको भेटबारे नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल बेखबर जस्तै बने।
चौथाइवालेले माधव नेपालसँग भेट्न इन्कार गरेको बताइएको छ। चौथाइवालेले पराराष्ट्रमन्त्री प्रदीव ज्ञवाली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।
त्यस्तै जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगसमेत भेट गरेका उनले नेकपाका अध्यक्ष प्रचण्ड खेमाका कुनै पनि नेतासँग भेट गरेनन्।
भाजपा र नेपालका राजनीतिक दलबीचको सम्बन्ध सुमधुर बनाउन चौथाइवाले नेपाल भ्रमण आएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। तर, पछिल्ला दिनहरुमा भारतीय पक्षबाट भइरहेको उच्चस्तरीय भ्रमणले भारत नेपालमा बढ्दो चिनिँया सक्रियतालाई मत्थर बनाउने प्रयासमा रहेको आँकलन गर्न सकिन्छ।