नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा शक्ति प्रदर्शनसहित सरकारविरुद्ध कार्यक्रम गर्दैछ। गत मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार र गिरफ्तार गरेपछि कांग्रेस आन्दोलनमा होमिएको छ। कांग्रेसले सोमबार गर्ने प्रदर्शनको तयारी, व्यवस्थापन र आगामी कार्यक्रमका सन्दर्भमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानासँग नेपाली पब्लिकले गरेको कुराकानीः
नेपाल विद्यार्थी संघले सोमबार हुने प्रदर्शन तयारी कसरी गरिरहेको छ?
–हामीले भोलिको आन्दोलनका लागि ७ वटा प्रदेशमा ७ जना पदाधिकारी खटाएका छौं। सबै कुराको समायोजन गर्न र ठूलो संख्यामा साथीहरूलाई सहभागी गराउन युवा परिचालन गरेका छौं। साथै प्रदर्शनको पूर्वसन्ध्यामा हामीले देशका ७७ वटै जिल्लामा विरोध स्वरुप सिठ्ठी फुक्ने कार्यक्रम राखेका छौं।
नेपाल विद्यार्थी संघका लागि मंसिर २९ गतेको दबाबमूलक प्रदर्शन नै अन्तिम हो कि नयाँ चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर विद्यार्थीका तर्फबाट सरकारलाई दबाब दिनुहुन्छ?
–यो त आन्दोलनको शुरुआत मात्रै हो। पार्टीले पनि आन्दोलनलाई निरन्तरता दिन्छ। जनताको बहुमत पाएर आएको सरकारलाई काम गर्न दिनुपर्छ भनेर नेपाली कांग्रेसले आजसम्म पर्खिएको हो। तर, ३ वर्षसम्म सरकारको काम कारवाही हेर्दा जनताबाट पाएको मतको सरकारले सदुपयोग गर्न सकेन। सरकार भ्रष्टाचारी र माफियाहरूलाई संरक्षण गर्न केन्द्रित भयो। देशमा बलात्कार र विभत्स हत्या भइरहेका बेला सरकारले यसलाई रोक्न कुनै पनि कदम चालेन। सरकारको ध्यान जनताको जीवनरक्षामा कति पनि देखिएको छैन। २० अर्ब कोरोनाको नाममा खर्च गर्यो।
तर, सरकारकै अकर्मन्यताका कारण कोरोना लागेमा ५० हजार बोकेर आउनु भनेर सरकारी अस्पतालले सूचना निकाल्यो। यी सबै कुरा हेर्दा सरकार जनताप्रति उत्तरदायी देखिएन। जनताको समस्याप्रति सरकारलाई कुनै वास्ता छैन। त्यसकारण जनताका लागि काम गर्न नसकेपछि र जनताको बहुमतको कदर नगरेपछि अब यो सरकारले मैले जनताको बहुमत पाएर आएको हुँ भन्नुको कुनै अर्थ छैन। त्यसकारण यो भ्रष्ट सरकार, नालायक सरकार, सर्वसत्तावाद उन्मुख सरकार अझै पनि सच्चिँदैन भने सडक आन्दोलनकै भरमा तह लगाउन कांग्रेस अगाडि बढेको हो। कांग्रेसको यो कदममा साथ दिन र आन्दोलनलाई प्रभावकारी बनाउन नेपाल विद्यार्थी संघले थप कार्यक्रमहरूलाई पनि अघि सार्न तयार छ।
तीन वर्षको अवधिमा नेवि संघका कतिपय नेता कार्यकर्तामाथि सरकारको नेतृत्व गरेकै पार्टीका नेता–कार्यकर्ताबाट आक्रमण भयो। त्यतिबेला मौन बनेको नेविसंघ वरिष्ठ नेता पक्राउ परेपछि मात्रै किन जाग्यो?
–यो आरोप मात्रै हो। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको भनेर मात्र हामी सडकमा आउन लागेका होइनौं। सरकार जनताको समस्याप्रति चिन्तित भएन। कोरोना महामारीबाट जनतालाई बचाउन लाग्नुपर्ने सरकार कठिन परिस्थितिमा पनि भ्रष्टाचारमा तल्लीन भयो। जनस्तारबाटै नै अब कांग्रेसले भ्रष्टाचार र नालायक सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ भनेर दबाब आयो। सरकारलाई कांग्रेसले नै तह लगाउनुपर्छ भनेर जनस्तरबाटै दबाब आएको हो। त्यससँगै कांग्रेसले सडकमा आउने तयारी गरिसकेको थियो। त्यसमाथि सरकारले कांग्रेस वरिष्ठ नेतालाई पक्राउ गर्यो। यो घटना भएपनि नभए पनि कांग्रेस सडकमा आउथ्यौं। कांग्रेसले सडकमा आउने तयारी गरिसकेको थियो।
सरकार सच्चिनुपर्यो भन्ने कांग्रेसको माग छ। सरकार नै परिवर्तन हुनुपर्ने वा प्रधानमन्त्रीले राजीनामा दिएर नेकपाबाटै अर्को नेता प्रधानमन्त्री हुनुपर्ने हो? कि कांग्रेसको माग के हो?
–नेकपाको बहुमत छ। कसलाई प्रधानमन्त्री बनाउने त्यो उनीहरूकै कुरा हो। जसको नेतृत्वमा सरकार बने पनि कांग्रेसले हेर्ने भनेको सरकारले जनताका लागि काम गर्छ कि गर्दैन भन्ने हो। जनतालाई समृद्धिको बाटो लान्छ कि लाँदैन भनेर हेर्ने हो। जनताको समस्याप्रति जिम्मेवार बन्छ कि बन्दैन भन्ने हो। गलत प्रवृत्ति सच्याउनुपर्छ भन्ने हाम्रो माग हो। होइन भने सडक आन्दोलनबाटै हामी सरकारलाई सत्ताच्युत गर्छौं।
कांग्रेसको आन्दोलनले देशमा अर्को अराजकता निम्तिन सक्छ भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ?
–हामी लोकतन्त्रवादी पार्टी हौं। त्यसमा पनि हामी संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी हौं। सरकार बनाउने वा सरकारलाई अविश्वासको प्रस्तावबाट भिडाउने काम संसदबाट हुन्छ भन्ने कुराको हामीलाई हेक्का छ। तर, सरकार लगातार दुईतिहाइ बहुमतको दुरुपयोग मात्र गर्छ भने सरकार संसदको अंकगणितको आधारमा आफूलाई सर्वसत्तावादतर्फ लान्छ भने जनता चुप लागेर बस्दैनन्। कांग्रेस नआए पनि जनता स्वयम् सडकमा आउँछन्। जनताले सत्ताच्युत गर्छन्। सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधि मात्र हुन् सांसद भनेको। सबैभन्दा ठूलो कुरा जनता हो। जनतामा नै चरम् असन्तुष्टि भएपछि जागिहाल्छन्। जनताको कुरा मान्नैपर्यो। ओलीसँग सच्चिने वा बिदा हुनेमध्ये एक विकल्प मात्रै बाँकी छ।