स्पेनिस क्लब बार्सिलोनाका अध्यक्षका उम्मेदवार इमिलि रौसाउदले क्लबका कप्तान लियोनल मेसीले तलब घटाउन राजी नभएमा उनलाई क्लबलाई निकालिने बताएका छन्। उनले कोरोना भाइरसको महामारी र बार्सिलोनामा मेसीको भविष्यबारे केन्द्रित हुँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘हामीले यस विषयमा मेसीसँग बसेर सल्लाह गर्नुपर्छ। तलब घटाउन उनीसँग आग्रह गर्नुपर्छ,’ रौसाउदले भने। ‘क्लब कठिन अवस्थामा छ। हामी मेसीलाई त्याग गर्नको लागि अनुरोध गर्नेछौं,’ उनले भने, ‘यदि त्यो सम्झौता भएन भने मेसीले क्लब छोड्नुपर्ने हुन्छ।’
‘मेसीले क्लबमा स्वर्णीम इतिहास लेखेका छन्। हामीले उनीजस्ता आदर्श खेलाडीको सम्मान गर्नुपर्छ,’ उनले थपे, ‘तर, वास्तविकता अहिले जे छ, त्यही नै हो।’
‘अवस्था सामान्य हुन्छ भन्ने मैले विश्वास गरेको छु। हामी हाम्रा सदस्यलाई मूर्ख बनाउन चाहँदैनौं। मेसीलाई क्लबलाई राख्न सक्दो प्रयास हामी गर्छौं। तर, क्लबलाई पहिलो प्राथमिता दिनु हाम्रो दायित्व हो,’ उनले भने।
रौसाउद आगामि जनवरीमा हुने बार्सिलोनाको अध्यक्ष पदका उम्मेदवार हुन्। हाल बार्सिलोना र ला लिगामा मेसीको भविष्य महत्वपूर्ण विषय बनिरहको छ। ६ पटकका ‘बालोन डी ओर’ विजेता मेसीले अघिल्लो सिजनको अन्त्यमा क्लब छोड्ने मनस्थिति बनाएका थिए। तर, केही बाध्यताहरुका कारण उनी अहिले बार्सिलोनाबाटै फुटबल खेलिरहेका छन्।
जारी सिजनको अन्त्यमा मेसीले बार्सिलोना छोड्ने सम्भावना प्रबल छ। बार्सिलोना क्लबका सम्भावित अध्यक्ष्यको प्रतिक्रियाबाट मेसीको बार्सिलोनासँगको यात्रा सिजन सकिएपछि सम्भवतः सकिने छ। मेसीको स्वागतका लागि इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तयार रहेको बताइएको छ। त्यस्तै, पेरिस सेन्ट जर्मन(पीएसजी), इन्टर मिलानले पनि मेसीलाई भित्र्याउन चासो देखाएको छ।