प्रहरीले ३८ तोला सुन चोरीको ओरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङ रहेका छन्।
उनीहरुले काभ्रे पाँचखाल नगरपालिका–२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो नगद र गरगहना चोरी गरेका थिए। चोरी गरी फरार भएका उनीहरूको हुलिया सहित खोजतलासका लागि पत्राचार गरिएको थियो।
हुलिया अनुसार महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्रयागन डिस्कोबाट नियन्त्रणमा लिएको हो।
नगर र सुन चोरेर उनीहरु काठमाडौं आएको प्रहरीले जानकारी दिएको छ। तीमध्ये दुई जना पैसा पाएर डिस्को गएका रहेछन्। २ जनालाई डिस्कोबाट पक्राउ गरेको र उनीहरुमार्फत बाँकीलाई पनि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आइतबार पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि काभ्रे पठाइएको छ।