मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ। गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक साँझसम्मको लागि स्थगित गरिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको हो।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख, प्रधानन्यायधीश, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन्। ६ जनामध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन्। त्यस्तै उपसभामुख पद रिक्त रिक्त छ। गणपूरक नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेको लागि बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ।