बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनान्मा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ। गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनान्को डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
‘पार्कभित्र करिब पाँच फिट अग्लो बुद्धकाे मूर्ति राखिएको छ’, उनले भने, ‘बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ।’ पार्कमा ढुङगाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उनले बताए।
‘बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ’, गाउँपालिका अध्यक्ष भट्टले भने, ‘बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ।’ पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले रु पाँच लाख विनियोजन गरेको थियो। ‘पार्क बनाउन स्थानीयवासीले श्रमदानसमेत गरेका छन्’, उनले भने।