च्याम्पियन्स लिग २०२० को प्री–क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)बीच महाभिडन्त हुँदैछ। उपाधी दाबेदार यी दुई टोलीको पहिलाे लेग फेब्रुअरी २ तारिखमा हुनेछ।
उक्त खेलमा पीएसजीका स्टार, ब्राजिलियन् फुटबलर नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्ध मैदान उत्रनेछन्। नेयमार र बार्सिलोनाका कप्तान लियोनल मेसी मिल्ने साथी हुन्। नेयमारले बार्सिलोना छोडेपछि मेसीले उनलाई क्लबमा पुनः फर्काउने असफल प्रयास पनि गरेका थिए।
नेयमारले केहि दिनअघिको अन्तरवार्तामा आफूले फेरी मेसीसँगै फुटबल खेलेर रमाउन चाहेको बताएका थिए। सँगै नभएपनि एउटै मैदानमा मेसी र नेयमार एकअर्काविरुद्ध खेल्ने चाँहि लगभग पक्का छ। हाल घाइते रहेका नेयमार उक्त खेलका लागि तयार हुने बताइएको छ।
च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएसँगै बार्सिलोना र पीएसजीको महाभिडन्त पक्का भएको हो। अन्तिम १६ मै नेयमारले आफ्नो पूर्व क्लब र पूर्व सहकर्मी तथा मिल्ने साथी मेसीविरुद्ध खेल्नुपर्नेछ। उक्त खेलअघि नेयमारले मेसीलाई भावुक सन्देश पठाएका छन्।
‘हामी छिट्टै भेट्दैछौं, साथी,’ नेयमारले आफ्नो आधिकारीक इन्स्टाग्राममा लेखेका छन्। नेयमार र मेसीले आफ्नो मित्रताबारे खुलेरै प्रशंसा गर्दछन्। पीएसजी गए पनि नेयमारले बार्सिलोना फर्कने इच्छा देखाएका थिए। तर, बार्सिलोना र पीएसजीबीच छलफल भए पनि ठोस सम्झौता हुन सकेन।
नेयमारले मेसीसँग खेल्न चाहेको बताएसँगै मेसी सिजनको अन्त्यमा पीएसजी जान सक्ने सम्भावना बलियो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएक छन्। बार्सिलोना छोड्ने मनस्थितिमा रहेका मेसी सम्भवतः इंग्लिस क्लब म्यानचेस्टर सिटी जान सक्नेछन्। यस्तोमा मेसी र नेयमारको पुनर्मिलन भने अप्ठ्यारोमा पर्ने बताइएको छ।
याे पनि पढ्नुहाेस् :
पुनः मेसीसँगै खेलेर फुटबलको मज्जा लिन चाहान्छु : नेयमार