विराटनगरमा गैरकानुनी मिटर ब्याजमा पैशा लगानी गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। विराटनगर–९ घोघापुल चोकका ४५ वर्षीय ‘मन्टु’ भनिने सञ्जय रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो।
मन्टुविरुद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगी गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। एक दसकयता रौनियारले विराटनगर र आसपासका गाउका जनतालाई मिटरब्याजमा पैशा लगाएर टाट पल्टाएको आरोप लागेको छ।
रौनियारको घरबाट मिटरब्याज लगानीका केही कागजात समेत प्रहरीले बरामद गरेको छ। मिटर ब्याजमा ऋण लिएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा पनि जग्गा फिर्ता नपाएको बताएका छन्।
प्रहरीको अनुसार रौनियारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।