प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई राजीनामा गर्न दबाब दिएका छन्।
नेकपा संसदीय दलका नेता ओलीले प्रमुख सचेतक गुरुङलाई बालुवाटारमै बोलाएर राजीनामा मागेका हुन्। बालुवाटार स्रोतका अनुसार आइतबार स्थायी कमिटीको बैठक बसेपछि ओलीले गुरुङलाई बोलाएका हुन्।
र, ओलीले प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिन दबाब दिएका हुन्। प्रधानमन्त्री ओलीको चेतावनीपूर्ण दबाबपछि प्रमुख सचेतक गुरुङले पार्टीले निर्णय नगरी किन राजीनामा दिने भनेर उल्टै ओलीलाई प्रश्न गरेका छन्।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध ‘गतिविधि गर्दै हिँडेका’ कारण राजीनामा मागेको जिकिर गरेका छन्। प्रत्योत्तरमा गुरुङले राजीनामा नदिने प्रष्ट पारेका छन्।
यसैबीच, ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी प्रमुख सचेतक गुरुङलाई पदबाट हटाउने चेतावनी दिएका छन्। जवाफमा प्रचण्डले ‘पार्टीभित्र बहस र छलफल गरी समस्याको निकास निकाल्नु पर्ने बेलामा अनुचित निर्णय नगर्न’ सुझाव दिएका छन्।