नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधनिक परिषद् बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा साँझ ५ बजेका लागि तय भएको बैठकमा देउवा नजाने भएका हुन्।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकै कारण देउवा बैठकमा सहभागी नहुने भएका हुन्।
‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गलत छ, त्यसैले सभापतिज्यू जानुहुन्छ,’ स्वकीय सचिव देउवाले भने। यसअघि मंगलबार बिहानका लागि तय भएको बैठकमा सभापति देउवा उपस्थित भएका थिए।
प्रधानमन्त्रीको अध्यक्षतामै रहने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।
यद्यपि, अध्यादेशको विषयका विषयमा केही सार्वजनिक भइसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संवैधानिक परिषद् बैठक आह्वान गरे पनि गणपुरक संख्या नपुगेर बैठक स्थपित हुँदै आएको छ।
यसअघि, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित रहेपछि मंगलबार बिहानका लागि तय भएको बैठक पनि स्थगित भएको थियो।
त्यसपछि प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक आह्वान गरेका छन्। संवैधानिक परिषद् बैठकमा गणपुरक संख्या पुग्नका लागि ५ जना उपस्थित हुनुपर्ने हुन्छ।
प्रतिनिधिसभाको उपसभामुख पद रिक्त छ। सभामुख सापकोटाले संवैधानिक परिषद्को बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएका छन्।
श्रोतका अनुसार गणपुरक संख्या नपुग्ने भएपछि ओलीले अध्यादेश जारी गरी बैठकको बाटो खोल्ने प्रयास गरेका हुन्। तर, देउवा अनुपस्थित हुने भएपछि ओलीको प्रयास विफल भएको छ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार दिउसो जारी गरेकी छिन्।
संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिएका हुन्।