नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ। कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर बिदा दिने जस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जानकारी दिएको छ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२औँं वार्षिक साधारणसभा विभिन्न १० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै महासङ्घले कुनै पनि बहानामा श्रमजीविको पारिश्रमिक रोकिन नहुने जानकारी दिएको हो। पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारका लागि बनेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गर्र्दै कार्यान्वयनको अवस्थाको महासङ्घले अनुगमन गर्ने र कार्यान्वयन नभएको पाइएमा खबरदारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।
सूचनाको हक पूर्ण कार्यान्वयन गरी सञ्चारमाध्यमलाई आफ्नो कार्यालय तथा सङ्घ संस्थाको सूचना उपलब्ध गराउन तथा त्रैमासिक रुपमा कार्यसम्पादन सार्वजनिक गर्न मागसमेत गरिएको छ। पत्रकारको क्षमता विकास, पेशागत सुरक्षाको आवश्यक व्यवस्थापन गर्न सबै सञ्चारमाध्यमलाई महासङ्घले आग्रह गरेको छ। समाचारको विषयलाई लिएर पत्रकारलाई डर, धम्की दिने, प्रलोभन देखाउने, अनावश्यक लाञ्छनालगायत जस्ता कार्य नगर्न तथा समाचारप्रति कुनै गुनासो भएमा प्रक्रियागत ढङ्गले अगाडि बढ्न सरोकारवालालाई आग्रह गरेको छ।
स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले सञ्चार क्षेत्रका लागि दिने विज्ञापन नीतिलाई प्रभावकारी बनाइ समानुपातिक रुपमा वितरण गर्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै दिने व्यवथा गर्न सचिव रामबहादुर थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन्।