‘फिफा दी बेस्ट २०२०’ को अवार्ड बिहीबार घोषणा हुँदैछ। यसपटक बार्सिलोनाका कप्तान लियोनल मेसी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की ‘फिफा दी बेस्ट’को अन्तिम ३ मा परेका छन्।
उनीहरुमध्ये एक जनाले बिहीबार सो अवार्ड पाउने छन्। फिफाको सो अवार्डअघि कार्टरेट एनलाइटिक्सले २०२० को बेस्ट खेलाडीको सूचि सार्वजनिक गरेको छ।
विश्लेषणात्मक प्रतिवेदन बनाएर सार्वजनिक गरिएको उक्त सूचिको शीर्षस्थानमा अर्जेन्टिाइन फुटबलर लियोनल मेसी रहेका छन्। मेसीका चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो उक्त सूचिको शीर्ष १० मा पनि परेनन्।
कार्टरेटले प्रत्येक खेलाडीले खेल जित्नको लागि दिएको योगदान र उनीहरुको व्यक्तिगत तथ्याङ्क र कार्टरेट रेटिङको आधारमा उक्त गुणात्मक प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार उत्कृष्ट खेलाडीको दोस्रोस्थानमा रोबर्ट लेवान्डोस्की रहेका छन्। शीर्षस्थानमा रहेका मेसीको रेटिङ ३१७.४ छ। लेवान्डास्किको रेटिङ ३१०.३ छ।
रोनाल्डो सूचिको ११ औं स्थानमा परेका छन्। उनले २३५.५ रेटिङ पाएका छन्। सूचिको तेस्रो स्थानमा केभिन डि ब्रुएन, चौथोमा ह्यारी केन, पाँचौंमा इर्लिङ हाल्याण्ड, छैटौंमा मोहमेद सलाह, सातौंमा भर्जिल भान डाइक, आठौंस्थानमा करिम बेन्जेमा छन्।
त्यस्तै, नवौंमा साडियो माने र दशौं स्थानमा टिमो वेर्नर रहेका छन्। नेयमार जुनियर सूचिको १४ औं स्थानमा छन्। पाउलो डिबाला १५ औं स्थानमा छन्।