१६ वर्षीया किशोरी गत मंसिर ९ गते घरबाटै बेपत्ता भइन्। बाबुआमाले प्रहरीलाई जानकारी गराए। छोरीको खोजी कार्यका लागि निवेदन दिए।
छोरी हराएपछि बाबुआमाले उनका साथीहरू र आफन्तहरुसँग सम्पर्क गरे। तर, सबैले ती किशोरीलाई नभेटेको र नदेखेको जानकारी दिए। बाबुआमाको भोकनिन्द्रा हरायो।
उनीहरूको एउटै मनोकामना थियो– छोरी चाँडै घर फर्किउन्। तर, एक साता बित्यो। दुई साता बित्यो। छोरी घर फर्किनन्। उनीहरूको मनमा चिसो पस्यो।
काठमाडौंको थानकोटबाट हराएकी ती किशोरीलाई भारततर्फ गएको सुराक प्रहरीलाई मिल्यो। नभन्दै मध्यप्रदेशको इन्दौरनजिकको सिहोर भन्ने ठाउँबाट ती किशोरीको उद्दार गरिएको छ।
नेपाल प्रहरी, भारतमा महिला तथा बालबालिकाको उद्दार र संरक्षणका लागि काम गर्दै आएको केआई नेपालको संयुक्त प्रयासबाट ती किशोरीको उद्दार गरिएको हो।
कोसँग कसरी भारत पुगिन् ती किशोरी?
अभिभावकले छोरी हराएको र खोजतलास गरिदिन अनुरोध गर्दै निवेदन दिएपछि थानकोट प्रहरीले किशोरीको खोजी कार्य शुरु गरेको थियो।
प्रहरीले काठमाडौं नाकाबाट बाहिरिने प्रत्येक सवारीसाधनमा निगरानी बढायो। तर, किशोरीको अवस्थाबारे पत्ता नलागेपछि प्रहरीले उनलाई भारत लगिएको हुन नसक्ने आशंका गर्यो।
किशोरीको मोबाइल ट्रेस गरेपछि प्रहरीले उनको आशंका सत्यमा बदलियो। किशोरीको परिवारले उनी भारतका दुई जना केटासँग निरन्तर सम्पर्कमा रहने जानकारी दिए।
किशोरीलाई भारत लगिएको थाहा पाउने बित्तिकै प्रहरीले नेपाल र भारतमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको केआई नेपालको काठमाडौं मुख्यालयमा सम्पर्क गर्यो। त्यसपछि केआई नेपालले भारतस्थित आफ्नो शाखालाई यसबारे जानकारी गरायो।
केआई नेपालले बालिकाको सबै विवरणको जानकारी आफ्ना भारतस्थित प्रतिनिधि नवीन जोशीलाई दियो। जोशीले भारतीय प्रहरीसँग समन्वय गरेर बालिकासँग सामाजिक सञ्जालमार्फत् सम्पर्कमा रहेका दुई जना केटाको नम्बर पत्ता लगाए।
अनुसन्धानपश्चात् प्रहरीले मध्यप्रदेशको भोपालमा बस्दै आएका महेश नामाका युवक घटनामा संलग्न भएको शंका गर्यो। दिल्ली प्रहरीले मध्यप्रदेशको बालकल्याण समिति (सिडब्लुसी) लाई घटनाबारे जानकारी गरायो।
सिडब्लुसीले तत्कालै मध्यप्रदेशको आष्टा जिल्ला अन्तर्गतको सिहोर प्रहरीलाई महेश सिलोरियालाई पक्राउ गरी छानवीन गर्न आदेश दियो।
सिहोर प्रहरीले ती युवकलाई पक्राउ गरी सोधपुछ गर्यो। प्रहरीको सोधपुछपछि महेशले किशोरीलाई आफूले बोलाएको र इन्दौरबाट एक महिलाका साथमा भोपाल ल्याएको स्वीकारे।
यसरी स्थानीय प्रहरी र सिडब्लुसीका प्रतिनिधिको टोलीले सिहोर भन्ने स्थानबाट ती किशोरीको सकुसल उद्दार गर्यो।
उद्दारपछि किशोरीले प्रहरीलाई दिएको जानकारीअनुसार दुई वर्षअघि टिकटकमार्फत् महेश नामको एक युवकसँग उनको सम्पर्क भएको थियो।
त्यसपछि उनीहरू फेसबुकमा साथी बनेका थिए। मेसेञ्जेर र ह्वाट्सएपमार्फत् उनीहरूबीच नियमित कुराकानी थाल्यो। प्रहरीका अनुसार महेशले किशोरीलाई माया जालमा पारेर विवाह गर्छु भनी आश्वासन दिएका थिए।
महेशले विवाह गर्छु भन्दै किशोरीलाई योजनाबद्ध तरिकाले भोपाल बोलाएका थिए। फेसबुकमा बेग्लै आइडी बनाएका महेशले किशोरीलाई आफू भोपालको एउटा ठूलो कलेजको मालिक रहेको बताएका थिए।
तर, महेशका पिताले सामान्य मजदुरी गरेर घरखर्च चलाउँदै आएको केआई नेपालका प्रतिनिधि जोशीले जानकारी दिएका छन्।
किशोरीले आफू एउटा महिलासँग इन्दौरसम्म आएको र त्यहाँबाट एक जना केटीको साथमा उनलाई सिहोर पठाएको बताएकी छिन्।
प्रहरीका अनुसार ती महिला र केटी को हुन भन्ने अझैसम्म खुलेको छैन। किशोरीलाई भोपालसम्म पुर्याउनका लागि ती केटी र महिलालाई महेशले नै खटाएको प्रहरीले आशंका गरेको छ। केआई नेपालका प्रतिनिधि जोशीका अनुसार ती केटी र महिलाको प्रहरीले खोजि गरिरहेको छ।
मानव तस्करको पञ्जाबाट उद्दार
किशोरीले प्रहरीलाई बताएअनुसार उनी बुद्ध एयरको जहाजबाट मंसिर १० गते बिहान ८ बजे सिमरा पुगेकी थिइन्। सिमराबाट रक्सौल नाका हुँदै उनी १ बजे भारततर्फ गएको थिइन्।
नाकामा उनलाई एसएसबी र नेपाल प्रहरीले केही पनि नसोधेको उनले जानकारी दिएकी छिन्। तर, प्रहरी र केआई नेपालका प्रतिनिधिलाई त्यो कुरामा विश्वास छैन।
जोशीले काठमाडौंकी किशोरी पहिलो पटक भारत आउँदा एक्लै सीमा काटेर भोपाल जान नसक्ने बताए। ती बालिकालाई कसैले चोरबाटोबाट योजनाबद्ध ढंगले सीमा कटाएको लगेको प्रहरीको आंशका छ।
ती किशोरी रक्सौलबाट कानपुरसम्म बसमा त्यसपछि लखनउ र त्यहाँबाट इन्दौरसम्म कसरी पुगिन भन्ने विषयमा प्रहरीले छानवीन गरिरहेको छ।
किशोरीका अभिभावक पनि उनलाई घर फर्काउनका लागि भारत पुगेका छन्। ‘किशोरीकी आमासँग उनको भेट भयो, दुवै जना भावुक हुनुभयो, छोरी भेटिएपछि अभिभावक खुशी हुनुहुन्छ,’ जोशीले भने।
रक्सौलबाट इन्दौरसम्म एक जना महिलाको साथमा रहेको र त्यसपछि अर्को एक जना महिलाले भोपालसम्म पुर्याएको बताएकी छिन्।
जोशीले मायाजालमा पारेर भारत लगिएको प्रष्ट भएको बताए। ‘विगतमा पनि केटाहरूले बिहे गर्ने प्रलोभन देखाएर भारत बोलाउने र पछि यौन शोषण गरेर बेच्ने र शारीरिक र मानसिक यातना दिएका घटनाहरूकै अर्को एउटा उदाहरणका रुपमा यसलाई लिन सकिन्छ,’ जोशीले भने।
तर, परिवार, प्रहरी र केआई नेपालको सक्रियतामा ती किशोरीलाई कुनै ठूलो जोखिममा पर्नुभन्दा पहिल्यै उद्दार गरिएको उनले बताए।
उद्दारपश्चात किशोरीलाई भोपाल बाल कल्याण समितिको संरक्षणमा स्थानीय बालगृहमा राखिएको छ। जोशीका अनुसार कानूनी प्रक्रिया पूरा भएपछि घर फर्काइने छ।