कृषकलाई लक्षित गरी मोबाइल एप ‘कृषि पथ’ सार्वजनिक गरिएको छ। कृषकले उत्पादन गरेका कृषिउपजको सहज बिक्री वितरण, तरकारी बालीलगायत मौसमसम्बन्धी जानकारी कृषकले सो एपबाट पाउने बताइएको छ।
साना तथा घरेलु उद्योग महासंघ बाँके शाखाले केयर नेपाल र बी–ग्रुपसँगको सहकार्यमा एप सार्वजनिक गरेको हो। एपको प्रयोगबारेमा बाँकेका आठवटै स्थानीय तहमा रहेका सहकारीमार्फत कृषकसम्म सूचना पुर्याउने गरी तयारी भइरहेको साना तथा घरेलु उद्योग महासंघ शाखा अध्यक्ष मधु खड्काले जानकारी दिएका छन्।
इन्टरनेटको पहुँचमा नरहेका किसानलाई लक्षित गरी कल सेन्टरको पनि व्यवस्था गरिएको उनको भनाइ छ। बाँकेका किसानले जिल्लाको कलसेन्टर १६१६८१५२९५० मा कल गरेर एपका माध्यमबाट निःशुल्करुपमा कृषि जानकारी लिन सक्ने जानकारी दिइएको छ।
लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मोबाइल एप सार्वजनिक गर्दै प्रविधिको प्रयोग कृषिको विकास सहज हुने बताइन्। उनले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने समस्या रहेकामा यो समस्या समाधानका लागि पनि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
प्रदेश सरकारले पनि किसानलाई लक्षित गरी खजुरामा कल सेन्टर सञ्चालन गर्न लागेकाले सहकार्य र समन्वय गर्न घरेलु महासंघलाई मन्त्री पौडेलले आग्रह गरिन्।
स्मार्ट कृषि गाउँ र हरित अभियानका लागि बाँकेका ८१ वडामा सहजकर्ता रहेका जानकारी दिँदै मन्त्री पौडेलले कृषकलाई लक्षित गर्दै प्रदेश सरकारले न्यून ब्याजमा ऋण दिन सकिने व्यवस्था गर्न लागेको जानकारी दिइन्।