प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधनिक परिषद् बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहिबार साँझ ५ बजेका लागि तय भएको बैठकमा देउवा नजाने भएका हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने जानकारी दिए।
मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधनिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।
अध्यादेशबारे चौतर्फी विरोध भएपछि बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा फिर्ता लिने सहमति भएको थियो।