नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएकाे हाे।
त्यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसरमा नियुक्त भएकाे क्यानले जानकारी दिएकाे छ।
वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन्। सन् १९६२ मा बसाई सरेर अष्ट्रेलिया पुगेका थिए। उनले अष्ट्रेलियन टिमबाट खेल्ने अवसर पनि पाए। सन् १९८८/८९ उनले प्रशिक्षणको करियरलाई पछ्याउन खेलबाट सन्यास लिए।
श्रीलंकाले सन् १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए। श्रीलंकापछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे। फेरि उनी श्रीलंका फर्किए। त्यसपछि उनी बंगलादेशकाे प्रशिक्षक बने।
बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए। २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले।
२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए। पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन्।
२०१७/१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेर पनि उनले काम गरे। २०२० फेब्रअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए।