प्रसिद्ध पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ। यसअघि साइटमा १ करोड ३० लाख भिडियो रहेकोमा अहिले त्यो संख्या ४० लाखमा झरेको छ।
द गार्डियनका अनुसार पोर्नहबले वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाएको हो। पोर्नहबले यसअघि नै नाबालिग र यौन तस्करीको शिकार भएका माहिलाको भिडियो साइटमा राखेको भन्दै विभिन्न आरोपको सामना गरेको थियो।
न्यूयोर्क टाइम्सको एक रिपोर्टमा यस साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको कुरा सार्वजनिक भएको थियो। त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए।
यससँगै अब पोर्नहबमा भेरिफिकेसनबिना भिडियो अपलोड गर्न नपाइने भएको छ। कम्पनीले एक बयानमा साइटका सबै कन्टेन्टको लागि भेरिफिकेसनको शर्त लागू भएको जानकारी दिएको छ। रिपोर्टअनुसार पोर्नहबको यो निर्णयले लाखौं यौनकर्मी र मोडलको दैनिक गुजारामा समस्या हुनेछ।
यसअघि जुनसुकै युजरले भिडियो अपलोड गर्न पाउने व्यवस्था थियो। तर, अब धेरैले भिडियो अपलोड नपाउने भएका छन्।