झापाका स्थापित पत्रकार तीर्थ सिग्देलको ‘एक दिन (समय–कथा)’ नामक कृतिको मैले पाण्डुलिपि नै पढेको हो । यस अघि तीर्थ सिग्देलका ‘पूर्वको राजनीति’ (२०७४) लेख सङ्ग्रह, ‘मनोनेट’ (२०७६) कथा संग्रह पनि निस्केको छ । उहाँको पहिलो कृति ‘जीवनको गति’ (२०७३) समेत ३ कृतिका सर्जकको यो चौथो कृति मेरा हातमा आइपुगेको छ ।
विश्वभर महामारी भएको कोरोना भाइरसका कारण नेपालमा पनि बन्दाबन्दीले बाहिरफेर घुमघामलाई त प्रतिबन्ध भएकै छ । यो एउटा अनुकूलता चाहिँ भयो पठनपाठनका लागि । यो बन्दाबन्दीलाई धेरैले सृजनात्मक उपयोग गर्नुभयो नै । मेरो पनि उपयोग नै भयो भनौं । यो कृति यसो पढ्दा यात्रा संस्मरण हो कि झैं लाग्नेछ । तर यथार्थमा यो यात्रा संस्मरण मात्र होइन भन्छु म । यात्राले लेखकलाई विषय पघारेको भने छ । यात्रा संस्मरणमा एउटा यात्राको सिलसिला हुन्छ, क्रमबद्धता हुन्छ, समयको पनि व्रmमवद्धता हुन्छ । यात्राकै प्रसङ्गबाट त्यसै लहरामा लहरिएर अन्य प्रसङ्गहरु झुत्ति खेल्दै आउन सक्छन् । अझ यसो भनौं यात्रा संस्मरणमा लेखकसँगै पाठकहरु यात्रा गर्छन्, लेखकले ती पाठकलाई गाइड गर्दै लैजान्छन् र लेख टुङ्गिँदा यात्रा टुङ्गिएको हुन्छ । तर यस कृतिका लेखहरुमा त्यस्तो भएको पाइँदैन । फेरि पनि लेखहरु लेखकका यात्राबाटै सृजित भने छन् ।
यात्रा संस्मरणभन्दा कम रोचक लेखहरु छैनन् । अझ यसो भनौं, कतिपय यात्रा संस्मरणहरु पट्यारलाग्दा वर्णन हुन्छन् । समय र स्थानको घुमाइको वस्तुगत वर्णनले दिक्क लाग्ने हुन्छन् । झन् पहिला ती ठाउँ घुमिसकेको व्यक्तिका निम्ति त रुचि नलाग्ने नै बन्न पुग्छन् । तर ती सबभन्दा छुट्टै यो कृति लेखक कुनै ठाउँ पुग्दा, त्यहाँ देखे–भोगेको कुराबाट प्रतिव्रिmयास्वरुप आफ्नो मनमा मन्थन हुन पुगेका कुराहरु छन् ।
लेखकले पुस्तकको सुरुमा लेखेको ‘लेखकीय’ त राम्रो निबन्ध छ र आफूले यो ‘नयाँ पुस्तक किन लेखें ?’ भनेर प्रष्ट्याउन सफल छ । आफू अध्ययनमा कसरी प्रवेश गरियो ? कसरी लेख्न थालियो ? सृजनात्मक र लेखनशैलीमा नयाँपन सहित लेख्ने आफ्नो धारणा, लेखनमा निजात्मकता ल्याउने र पत्रकारितामा आफू लागेका कारण अनुसन्धानमा आधारित लेखन गर्ने सोच भएको प्रष्ट्याउन सफल छ ।
यस कृतिको पहिलो – ‘तुम सब की बिबी एकी है ?’ लेखकको यो भारतमा बेग्लाबग्लै मितिमा गरेको दिल्ली तथा हैदरावाद भ्रमणको रेल यात्राबाट जन्मेको लेख हो । यसमा लेखकले आफ्नो यात्रा वर्णनमा केही र ती स्थानका भौगोलिक, सामाजिक तथा ऐतिहासिक महत्वको परिचय दिन प्रयत्न गर्नुभएको छ । भारतमा रेलको यात्रा नरमाइलो, असुविधाजनक छ भन्ने कुरा पनि लेखकले दोहोर्याएर गर्नुभएको छ । रेल यात्रामा भीखारी र तेस्रो लिङ्गीले यात्रुलाई दिने झन्झटको झल्को पनि दिनुभएको छ । यो लेखको शीर्षक ‘तुम सब की बिबी एकी है ?’ भन्ने सम्वाद तिनै तेस्रो लिङ्गीले व्यङ्गात्मक रुपमा गरेको प्रश्न हो ।
‘दिल्लीको बसाइ मजैको सिकाइ’ शीर्षकको दोस्रो लेखमा दिल्लीको सघन ट्राफिक र सधैंजस्तो ट्राफिक जाम हुने कुरा त जानकारी गराएकै छ, अझ त्यो ट्राफिक भीडलाई बुझेर तयारी गर्नुको साटो आफ्नो साथी रितेश जस्तै आफ्नो पनि हेलचेव्रmाइँले एक पल्ट मात्रै होइन, दुई–दुई पल्ट काठमाडौं आउने जहाज छुटेको कुरा प्रष्ट्याएको छ ।
‘डर र त्रास बोकेर गोवा पुग्दा’ शीर्षकको यो लेखमा गोवाको परिचय समेटिएको छ । गोवा पुगेपछि एक जना साथी हराउँछन्, भरे त सार्वजनिक स्थानमा चुरोट तानेका कारण प्रहरीको पक्राउमा परेका हुन्छन् । यस घटनाले नेपालको कानून पालनमा हेलचेक्राइँ हुने तर त्यहाँ भने कानूनको परिपालना हुने भनेर तुलना गरिएको छ । भारत पत्ता लगाउने भास्को डि–गामा पनि संक्षिप्त परिचय दिन खोजिएको छ ।
‘तपाईं बुद्धिष्ट हुनु भएन ?’ भन्ने शीर्षकको यो निबन्ध निकै राम्रो छ । श्रीलङ्काको वारेमा थोरै जानकारी गराउँदै त्यहाँ लिट्टेले चलाएको विद्रोह र नेपालको माओवादी विद्रोहको तुलनात्मक चर्चा गर्दै, रामायणको कथाले जोडेको लङ्का र रावण वारे स्मरण गर्दै रावणको व्यक्तित्वको जानकारी पनि गराएको छ । श्रीलङ्का बौद्ध धर्मावलम्वी देश भएकाले र नेपाल गौतम बुद्धको जन्मभूमि हुँदा त्यहाँका मानिसमा नेपालप्रति श्रद्धा हुने र उनीहरुको ‘पक्कै नेपालीहरु बौद्ध धर्मावलम्वी होलान्’ भन्ने अनुमान रहने पनि यस निबन्धले जनाउँछ ।
‘दक्षिण एशियाको एउटा दुःखान्त’ शीर्षकको यो पाँचौं लेख पनि वडो राम्रो छ । लेखकले यस लेखमा वङ्लादेशका चक्मा विद्रोहीहरुको प्रसङ्गबाट भारतका वोडो, नक्सलपन्थी, गोर्खाल्याण्ड मुक्ति मोर्चा, नेपालका माओवादी आदि वारेमा पनि चर्चा र विद्रोहको चर्चा गर्नुभएको छ । अझ श्रीलङ्काको लिट्टेले गरेको विद्रोहको कुरा र त्यो चक्मा विद्रोह त राज्यसत्ताले खास जाति, धर्म वा सम्प्रदायमाथि गरेको विभेदको विरुद्धको वाध्यात्मक र न्यायिक विद्रोह हो भन्ने कुरा प्रष्ट्याउनु भएको छ । चक्मा विद्रोहको प्रसङ्ग उठाएर लेखक श्रीलङ्का, नेपालसम्म आउँदा त्यही छेउमा बर्माका करेन विद्रोहीहरुको चर्चा गर्न भने छुटाउनु भएको छ । तर लेख उपयोगी र राम्रो छ ।
‘दोहामा विशिष्ट स्रोता बन्दा’ शीर्षकको यो लेख भने विदेश लाग्न थाल्दा आफ्नै देशको विमानस्थलमा हुने नेपाली यात्रुप्रतिको रुखो र असहयोगी विचारबाट उब्जेको कुारको गथासो गर्दै दोहामा पुगेर त्यहाँ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) शाखाले आयोजना गरेको कार्यक्रममा विशिष्ट स्रोताको जिम्मेवारी निभाएको कुरा छ । अघिल्ला गोष्ठीहरुमा खगेन्द्र सङ्ग्रौला, डा.गोबिन्दराज भट्टराई बसेको कुर्सीमा बस्ता गर्वित महसुस गरेको कुरा भन्दै लेखकले कतार गएको, कतारको विकास हेरेर प्रभावित भएको कुरा लेख्नुभएको छ ।
‘देश बनाउन कति समय लाग्छ’ भन्ने यस लेखमा लेखकले मध्यपूर्वका साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कतार आदिको परिचय, प्राकृतिक स्रोत साधनका दृष्टिले निकै ठगिएका, मरुभूमि नै मरुभूमि र नूनिलो समुद्र मात्र पाएका ती मुलुकले गरेको उन्नति र प्रगतिका चर्चा उठाउँदै मलेशिया र सिङ्गापुरको चर्चा गर्नु भएको छ । महाथिर महम्मदले मलेशिया र लि–क्वानयूले सिङ्गापुरलाई विकासको शिखरमा पु¥याएको चर्चा गर्दै आफ्नो देश सम्झेर खिन्न हुनुभएको छ । भ्रष्टाचार मुक्त बनाउन सेतो सर्टको अभियान चलाएका लि–क्वानयू एकातिर र अर्कातिर अरब खरब भ्रष्टाचार भएकोमा आँखा चिम्लिने हाम्रा नेताहरुको चालाबाट भावुक बन्नुभएको छ । अनि लेखक भन्नुहुन्छ, ‘देशले राम्रो नेता पाउने हो भने मुलुक विकसित हुन धेरै समय नलाग्ने रहेछ ।’
‘ढाका छोड्नुअघि’ भन्ने लेखले वङ्लादेश कसरी स्वतन्त्र देश बनेको हो भन्ने वारेमा र शेख मुजिबुर रहमानलाई वङ्लादेशमा ‘वङ्गवन्धु’ भन्नुको तात्पर्य के हो भन्ने वारेमा संक्षिप्तमा जानकारी गराउँछ । ‘हिंसाको मारमा परेको मुलुकलाई छिचोल्दा’ शिर्षकको यो लेख निकै राम्रो र महत्त्वपूर्ण छ । वङ्लादेशको शैक्षिक स्थितिका वारेमा धेरै जानकारी त गराउँछ नै यस लेखले, डा.महम्मद युनुस जसले वङ्लादेशको गाउँहरुको व्यापक गरिबीलाई सम्बोधन गरेर त्यहाँको जीवनस्तर सुधार्न सहकारीकै किसिमको लघुवित्त (माइक्राे फाइनान्स)को नीति ल्याए र धेरैको जीवनमा उज्यालो छरे, उनको वारेमा पनि जानकारी गराउँछ । ढाकामा माग्नेहरुको विगविगी वारेमा पनि प्रसङ्गवश जानकारी हुन्छ ।
‘मुस्लिम देशमा जातीयताको खोज’ शीर्षकको यस एघारौं लेखमा लेखकले कवि भएर सुरु गर्नुभएको छ । अघिल्लो एउटा लेखमा पनि चटगाउँका चक्मा विद्रोहीहरुउपर सहानुभूति व्यक्त गर्नु भएको लेखकले ती वौद्ध वङ्गालीउपर वङ्गसरकारको अत्याचार अन्य हिन्दूउपर जतिकै जातीय र धार्मिक पूर्वाग्रहयुक्त बताउनुभएको छ । लेखक मुलुकको सौन्दर्य त सबैथरिका फूलहरु ढकमक्क फुलेको फूलबारीझैं सबै जातजाति तथा सबै धर्मका अनुयायी जनताहरु राष्ट्रमा उन्मुक्त हाँसेको हेर्न मनपराउँनु हुन्छ । जब भुटानबाट, बर्माबाट नेपालीलाई खेदाइन्छ, जब बर्माबाट रोहिङ्ग्यालाई खेदाइन्छ, जब पाकिस्तान या वङ्लादेशी सरकारबाट हिन्दू या बौद्धलाई वव्रmदृष्टिमा पारिन्छ, जब हिन्दुस्थानमा मुस्लिमहरु अनेक यातनामा पर्छन् त्यो राम्रो हुँदैन भन्ने कुरा वङ्लादेशको भ्रमणको प्रसङ्गमा व्यक्त गर्नुहुन्छ लेखक ।
‘कक्स बजारमा भिजिट नेपालको बजार’ शीर्षकको लेखमा वङ्लादेशको कक्स बजारको परिचय गराउँनुहुन्छ । वङ्लादेशले अपेक्षित उपलब्धी हासिल गर्न नसकिरहेको लाग्छ लेखकलाई । पर्यटकहरुलाई एकदम राम्ररी लोभ्याउन यस स्थानलाई अझ सिँगार्न सक्ता र मध्यपूर्वका कतार, दुबई, साउदी अरब आदिलेझैं विदेशी लगानी पनि आकर्षित गर्ने, पर्यटकलाई आऊँ–आऊँ जस्तो पार्ने हो भने राम्रो आम्दानी हुन्थ्यो भन्ने विचार व्यक्त गर्नु भएको छ । यसै प्रसङ्गमा त्यता जाँदा वङ्लादेशको सडकमा गाडीहरु सडक अनुशासन पालना नगरी बेतोडसँग कुदेका र धेरैजसो गाडीहरु एकार्कामा ठोकिएर विरुप देखिने भएका कुराको चर्चा पनि गर्नुभएको छ ।
‘बुर्ज खलिफाबाट दुबईलाई नियाल्दा’ शीर्षकको यस लेखमा लेखकले दुबईमा मानिसले निर्माण गरेका चमत्कारिक वस्तुहरुको चर्चा गर्नुभएको छ । यो लेख पढ्दै गर्दा मलाई म्याक्सिम गोर्कीको एउटा उक्ति सम्झनामा आयो– “म मानवका सम्मुख कुन कारणले शिर निहुराउँछु भने उसको विवेकबुद्धि, उसको कल्पना र उसको अनुमानका अतिरिक्त यस संसारमा म अरु केही नै देख्तिनँ ।”
वास्तवमा लेखकले बखानेका ती चमत्कारपूर्ण निर्माणहरु त्यहाँका मानिसका कल्पना र बुद्धिका सृजनाहरु हुन् । त्यो १५४ तलाको ८२९.८ मिटर जति अग्लो बुर्ज खलिफा टावर र त्यससँगै बनाइएको संसारकै ठुलो दुबई मल, होटेल बर्ज अल अरब, होटेल अट्लान्टिस पाम, मिराकल गार्डेन, छैटौं शताब्दीमा निर्मित अल फिडीआइडी किल्ला इत्यादिको वर्णन र दुबईको ५० वर्षअघिको तस्वीरको तुलना नै यस लेखको सार हो । लेखले दुबईको आधुनिकता र वैज्ञानिक विकासलाई निक्कै राम्ररी चिनाउँछ ।
‘आफ्नै देश प्यारो’ शीर्षकमा त मैले लेखेको भए शीर्षक ‘परिपरिका परिकार’ राख्ने थिएँ होला । उसै त उहाँको यो कृति पढ्दै गएपछि मेरो उहाँप्रतिको दृष्टिकोण निकै अग्लो भयो । मैले त उहाँलाई एउटा अल्लारे पत्रकार ठानेको थिएँ, तर उहाँ त देश खाएर शेष भएको भनेझैं हुनुभएको रहेछ । अझ यो लेखमा बिभिन्न ठाउँमा खाइने खानाका परिकार, तिनका नामहरु कतिविधि जानेको भन्नुजस्तो । नेपालका बिभिन्न स्थान विशेषका र जातविशेषका विविध परिकार त छन् छन्, अझ देशविदेशका परिकारको कुरा पनि त्यतिकै । राम्रो र उपयोगी लेख छ यो ।
समग्रमा भन्नुपर्दा वडो सरल भाषामा, कुनै जटिल शब्द प्रयोग नगरीकन सामान्य पाठकले पनि छ्याङ्ङ बुझ्न सकिने धेरैधेरै ज्ञानबद्र्धक कृति छ यो । लेखक स्वयं भन्नुहुन्छ– “खासमा अध्ययन, अनुसन्धान र खोज गरेर लेखेको पुस्तकको आयु लामो हुन्छ । त्यस्ता पुस्तकले राम्ररी बजार लिन सक्छ र पाठकको मन पनि जित्न सक्छ । निश्चित हो, मेरो लेखनमा पत्रकारिताको शैली हावी छ । छोटाछोटा वाक्य र शब्दको प्रयोगले पढ्न सजिलो हुन्छ । बुझ्न पनि सहज हुन्छ ।”
मैले अनुमान गरेको भन्दा धेरै शुद्धसँग लेखिएको, नेपालीइतर पराया शब्दहरु पनि त्यति नभएको अपेक्षाकृति राम्रो पाएँ । अझ लेखहरुले दिने खुराक धेरै छन् । मलाई लाग्छ जतिले पढ्नुहुन्छ पक्कै पनि धेरै नयाँ कुरा सिक्नुहुनेछ । धेरै मेहनत गरेर, पुगेका ठाउँका वारेमा गाइडसँग जानकारी लिएर स्मृतिले त ती सब टिप्न सक्तैन, नोट गरेर पाठकहरुका लागि यसरी उपलब्ध गराउनु ठुलो कुरा हो ।