नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले केपी शर्मा ओलीलाई संसद् बैठक बोलाउन बाध्य पार्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
कांग्रेसका प्रभावशाली नेता थापाले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा ‘बरालिएका ओलीलाई बाँध्नकै लागि संसद् अधिवेशन आह्वान गर्न बाध्य पार्नुपर्ने धारणा राखेका हुन्।
‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौं, बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद् अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔं, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौं,’ थापाले लेखेका छन्।
नेता थापाले संसद अधिवेशनको विषयमा मनन् नगर्दा अहिले यस्तो परिस्थिति आएको टिप्पणी गरेका छन्। ‘आज बैठक बस्दै हुनुहुन्छ, पार्टी सभापतिलाई फेरि विनम्र अनुरोध, संविधानको धारा ९३ (३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं,’ थापाको प्रष्ट धारणा छ।
उपसभामुखको निर्वाचन नभएसम्म संसद बैठक ठप्प पार्ने रणनीति लिन पार्टी नेतृत्वलाई सुझाव दिँदै थापाले उपसभामुख बिनाको संवैधानिक परिषद् बैठक अस्वीकार गर्नुपर्ने र संसद तथा सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्ने मत व्यक्त गरेका छन्।