नेपाली मुलका सेफ सन्तोष शाहले नेपालको शान बढाएका छन्। ब्रिटेनमा बस्दै आएका शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ प्रतियोगिताको शीर्ष ३ मा पुगेका छन्।
नेपाली परिकारलाई विश्वसामु पस्किँदै उनी अन्तिम ३ मा पुग्न सफल भएका छन्। उनले बासी भात शैलीमा भुटेको चिउरा, भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गंगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज लगायतको परिकार बनाएर अन्तिम ३ मा स्थान बनाएका हुन्।
अहिले शाहले विश्वभर प्रशंसक कमाएका छन्। नेपालीहरुले उनलाई खुलेरै सपोर्ट गरिरहेका छन्। ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउन्डको दोस्रो चरणमा उनी भादगाउँले टोपी लगाउँदै नेपाली शान विश्वसामु बढाएका छन्।
साहले बाल्यकालमा नाला खन्ने काममा मजदुरी गर्न नदी किनारमा जाँदा यी परिकारका खाजा आमाले बनाएर ल्याइदिने गरेको बताएका छन्। आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिएका हुन्। सन्तोष सानो छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जाने गर्थे।
फाइनलमा पुगेका सन्तोषले सेफ बन्न भाइबाट उत्प्रेरणा मिलेको बताए। आफू दश वर्षसम्म भारतमा बसेको उनले बताए। सन्तोष दश वर्षअघि बेलायत पुगेका थिए।