फिफाले प्रत्येक वर्ष प्रदान गर्दै आएको फिफा ‘दी बेस्ट’ अवार्ड यस वर्ष रोबर्ट लेवान्डोस्कीले जितेका छन्। वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने सो अवार्ड वर्ष २०२० मा लेवान्डोस्कीले पाएका हुन्।
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उपाधि जितेका हुन्। पोलिस फरवार्ड लेवान्डोस्कीले बायर्नलाई सबै प्रतियोगिता जिताउन महत्पपूर्ण योगदान दिएका थिए।
त्यस्तै, महिला खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन्। डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीन मनोनयनमा परेका थिए।
महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मनले द बेस्टको उपाधि हात पारीन्। उनले चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेरलाई मनोनयनमा पछि पारेकी हुन्।
पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते। लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक पनि शीर्ष तीन मनोनयनमा परेका थिए।
इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते। फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले हात पारे। महिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन्।
पुरुषतर्फको द बेस्ट गोलरक्षकको उपाधि जर्मन कप्तान म्यानुएल नोएरले जिते। फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन्।