सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेशीमा चढाएको छ। सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।
२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो। त्यही मुद्दाको पेशी शुक्रबार तोकिएको हो।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ। १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए।
साउन तेस्रो साता लामालाई खाल्टो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्।
प्रहरीले जाहेरी नलिएपछि त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालिन्। २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो। तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्यो।
त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन्। सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो। यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ। मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए।