उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानले पाउनु पर्ने रकम भुक्तानी गराउने आश्वासन दिएका छन्।
उखु किसानको आन्दोलनमा समर्थन व्यक्त गर्दै माइतीघर पुगेका भट्टले उखु किसानले पाउनुपर्ने रकम चिनी मिल सञ्चालकहरूबाट भुक्तानी गराउने आश्वासन दिएका हुन्।
सरकारले कुनै पनि हालतमा किसानको पैसा दिलाने प्रतिवद्धता व्यक्त गदै मन्त्री भट्टले मिलका सञ्चालकहरूलाई खोजी गरिरहेको प्रष्ट पारे।
‘हामी मिल मालिकहरूलाई खोजी गरिरहेका छौं, १०–१२ दिन उहाँहरू सम्पर्कमा आउनुहुन्छ कि हुन्न हेरौं, त्यसपछि सरकारले उहाँहरू (चिनी मिल सञ्चालक) को सम्पत्ति रोक्का गरेर भए पनि पैसा असुल गर्छ,’ भट्टले भने।
चिनी मिल सञ्चालकहरूले उखु किनेपछि कम भुक्तानी दिन आलटाल गरिरहेका छन्। उखु उत्पादक किसानले एक सातादेखि माइतीघर मण्डलामा निरन्तर आन्दोलन गरिरहेका छन्।
उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने किसानको अडान छ। सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गरेर रकम भुक्तानी दिने आश्वासन दिएको छ।