स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदका क्रममा दोषी पाइए कारबाही भोग्न तयार रहेको प्रष्ट पारेका छन्।
सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले ओम्नी प्रकरणमा दोषी पाइएमा आफू कारबाही भोग्न तयार रहेको बताएका हुन्।
ढकालले कोरोनाको ‘आगो लागेका बेला’ तत्कालै स्वास्थ्य सामग्री खरिद गर्नुपरेको दावी गर्दै आफूले कुनै गल्ती नगरेको बताए। ओम्नीसँग आफ्नो साँठगाँठ नरहेको उनको तर्क थियो।
स्वास्थ्य सामग्री खरिदले कोरोना प्रकोप नियन्त्रणमा ‘ठूलो’ सहयोग गरेको मन्त्री ढकालको जिकिर छ। उनले स्वास्थ्य सामग्री खरिद ठेक्का दिएको व्यापारिक समूह ओम्नीलाई कालोसूचीमा राखिएको उल्लेख गरे।
साथै मन्त्री ढकालले धरौटी फिर्ता नदिइएको बताउँदै ढकालले आवश्यक छानवीनका लागि बाटो खुल्ला रहेको धारणा राखेका छन्।
आफ्ना सल्लाहकार डा. खेम कार्कीलाई खरिद समितिको विज्ञको जिम्मेवारी दिइएको र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकको निर्णयबाटै उक्त जिम्मेवारी दिइएको उनको तर्क थियो।