शनिबार आन्दोलनरत उखु किसानलाई भेट्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट माइतीघर पुगेका थिए। त्यहाँ पुगेर मन्त्री भट्टले शनिबारसम्म उखु किसानहरूको खातामा पैसा जम्मा हुने आश्वासन व्यक्त गरे।
मन्त्री भट्टले शनिबारसम्म खातामा पैसा जम्मा नभएमा उद्योगीहरूलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सामान्य अवस्थामा शनिबार बन्द रहने वाणिज्य बैंकका शाखाहरु खुल्ने जानकारी दिएका छन्।
तर, किसानहरुसँग्ग कुरा गरेर फर्किएलगत्तै मन्त्री भट्टविरुद्ध नाराबाजी भएको छ। किसानहरुले मन्त्रीले ठोस प्रस्ताव नल्याएको र आश्वासन मात्रै बाँडेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका हुन्। किसानको आन्दोलनलाई साथ दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि माइतीघर पुगेका थिए।
किसानहरुको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता रहेको जानकारी दिँदै नेता पौडेलले नेपाली कांग्रेस किसानको पार्टी भएको बताएका छन्। उनले किसानका माग तत्काल पूरा गर्न सरकारसँग मागसमेत गरेका छन्।