नेपाली संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेता खाँडले जनतामा तीव्र विरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा र्पुयाउने हुँदा गम्भिर हुनसमेत सुझाएका छन्।
सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले आरोप लगाएका छन्।
संविधानको पालना गर्ने, रक्षा गर्ने सरकारले गरेको निर्णय संविधानको प्रतिकुल छ भने सरकारलाई सच्याउने राष्ट्रपतिले सुझाव दिने काम रहेको र संसारभरको चलननै यहीँ रहेको बताउँदै नेता खाँडले राष्ट्रपति भण्डारीले राम्रो मा नगरेका बताए।
यसअघि नै फिर्ता भइसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उनको कमजोरी भएको बताए।
नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद अधिवेशन बोलाउन माग गरेको छ।