नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिले देशको सीमा र स्वाधीनतामाथि ठूलो प्रहार भइरहेको बताएका छन्।
पूर्व सुरक्षाकर्मी परिषद् नेपालको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटुवालले भारत र चीनसहित विश्वका शक्तिशाली मुलुकबाट नेपाललाई साइलेन्ट आक्रमण भइरहेको बताएका हुन्।
यसको रक्षाका लागि सबै लागिपर्ने कटुवालले आग्रह गरेका छन्। रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थालेकाले सबै सचेत बन्न उनले आग्रह गरेका छन्।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माले सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको बताउँदै अब एकजुट भएर अगाडि बढ्न आग्रह गरे।
हारेर थाकेको नभइ उमेरले अवकाश पाएको बताउँदै धेरै ज्ञान र क्षमता सुरक्षाको विषयमा भएकाले राज्यले चिन्न सक्नुपर्ने धारणा उनले राखेका छन्।
सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरूले पूर्व सुरक्षाकर्मी परिषद् गठन गरेका छन्। नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केबी राउतको संयोजकत्वमा परिषद् गठन गरिएको हो।
परिषद्मा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, भारतीय सेना तथा बेलायती सेनामा काम गरेकाहरूले संयुक्त रुपमा सहभागिता रहेको छ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व डिआइजी एवं सामाजिक अभियन्ता रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरूले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टि भएको बताएका छन्।
खरेलले यस्ता प्रवृत्ति विरुद्ध उत्रिन सबैमा आग्रह गरेका हुन्। रगतका धर्साले सीमा जोगाएको, कर्तव्य पालनाका लागि लड्दा घाइते र अपाङ्गतासहित शहीदसम्म भएको उदाहरण दिँदै अब सुरक्षाकर्मीहरू एकढिक्का भएर अगाडि बढ्नपर्ने बताए।
कार्यक्रममा पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत लगायतले बन्दुक र गोली चलाउनेहरू आदेश पालना मात्रै होइन विवेकशील र सचेत भएको सन्देश दिन परिषद् गठन गरिएको बताएका छन्।