सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्। नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार शाक्य २ सय ९५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्।
काठमाडौंको रामशाह पथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समूहले बहुमत पदाधिकारी र सदस्यमा विजयी हासिल गरेकाे हाे।
अध्यक्षमा शाक्यसँग प्रतिस्पर्धा गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनालले २ सय ५० मत पाएका छन्।
उपाध्यक्षमा प्रगततिशीलका मुकुन्दप्रसाद पौडेल २ सय ८४ मतसहित विजयी भएका छन्। लोकतान्त्रिक समूहका नमराज रिजालले २ सय ५४ मत प्राप्त गरेका छन्।
लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे ३ सय १६ मतसहित सचिवमा विजयी भएका छन्। प्रगतिशीलकी अञ्जिता खनाल २ सय २४ मत प्राप्त गरिएकी छिन्।
लोकतान्त्रिक समूहकी शर्मिला श्रेष्ठ २ सय ८० मतसहित सहसचिवमा विजयी भएकी छिन्। सहसचिवमा प्रतिस्पर्धा गरेकी प्रगतिशीलकी शोभा कार्कीले २ सय ५९ मत पाएकी छिन्।
कोषाध्यक्षमा विनोदकुमार कार्की २ सय ७४ मतसहित विजयी भएका छन्। कार्की लोकतान्त्रिक समूहका हुन्। प्रगतिशील समूहका श्यामकुमार खत्रीले २ सय ६० मत पाएका छन्।
महिला सदस्यमा लोकतान्त्रिक समूहकी अमिता गौतम पौडेल निर्वाचित भएकी छिन्। गौतमले २ सय ९१ मत प्रापत गरेकी छिन्। प्रगतिशील समूहकी देवी रेग्मीले २ सय ८ मत पाएकी छिन्।
लोकतान्त्रिक समूहका तर्फबाट विकास भट्टराईले २ सय ७६ मत, राजेन्द्रप्रसाद शाहले ३ सय १३, मिराज श्रेष्ठले ३ सय ५, डा. रामहरि त्रिपाठीले २ सय ६९ र निर्मला भण्डारीले २ सय ७४ मत प्राप्त गरी सदस्यमा विजयी भएका छन्।
प्रगतिशील समूहबाट दीपनारायण शाहले ३ सय ३ मत, अनन्तराज लुइँटेलले ३ सय २ मत, अनन्त कार्कीले २ सय ५८ मत, तिलकविक्रम पाण्डेले २ सय ५६ मत गरी सदस्यमा विजयी भएका छन्।