साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन्। विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुङ्गाका वृद्धवृद्धादेखि युवायुवतीसम्म लागिपरेका हुन्।
मगर समुदायको संस्कृतिका रुपमा रहे पनि पछिल्लो समय लोकप्रिय सोरठी र मारुनी नाच हराउँदै जान थालेको बेला घुरुङ्गाको समुदायमा यसको जगेर्ना गर्न थालिएको हो। मगर समुदायमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत सोरठी र मारुनी नृत्य नाचिन्छ भने पछिल्लो समय गाउँमा आएका पाहुनाको स्वागतका लागि पनि यो नृत्य प्रदर्शन गर्न थालिएको छ।
सोरठी र मारुनी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको सोरठी समूह घुरुङ्गाका अध्यक्ष टेकबहादुर पुनले बताए। आफ्नो बाजेको पालादेखि चलेको सोरठी हराउँदै गएपछि अब नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ।
सोरठी–मारुनी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ। यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य हो। छोटो नृत्य पनि लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गर्दछ। स्थानीय युवाहरु महिलाको पोशाकमा सजिएर नाच्ने गर्दछन्। सोरठी र मारुनी नृत्यमा महिला समूहमा बसेर गाउने र पुरुष नाच्ने गर्दछन्।
गाउँका युवाहरू महिलाको पोशाकमा सजिएर महिलाजस्तै बनेर नाच्ने चलन छ। सोही कारणले नै यसको नाम मारुनी नाच रहन गएको स्थानीयवासीको भनाइ छ। मगर समुदायको संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि केही मात्रामा सहयोग गरेको मोदी गाउँपालिकाले जनाएको छ।
यसअघि जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कको मगर समुदायमा पनि १०० वर्षपछि सोरठी र मारुनी नाच उजागर गरिएको थियो। स्थानीय युवायुवतीको सक्रियतामा उक्त गाउँमा पनि अहिले विभिन्न उत्सवमा प्रदर्शन गर्ने गरिएको स्थानीय यामबहादुर पाइजाले बताए।