नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई गम्भीरतापूर्वक लिएको बताएको छ।
कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले ओलीको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको बताएका हुन्र।
शर्माले नेपाली कांग्रेसले यसलाई राजनीतिक रुपमा गम्भीर रुपले प्रतिवाद गर्ने प्रष्ट पारेका छन्। चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय रहेको शर्माको ठहर छ।
‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ, विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपील गरेको छ।
‘नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ । पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।