एकै क्लबको लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पेलेको नाममा थियो। हाल बार्सिलोनाका कप्तान लियोनल मेसीले पेलेको उक्त कीर्तिमानमा बराबरी गरेका छन्।
पेलेले ब्राजिलियन क्लब सान्टोसका लागि ६ सय ४३ गोल गरेका थिए। मेसीले शनिबार ला लिगामा भ्यालेन्सियाविरुद्ध खेल्दै बार्सिलोनाका लागि ६ सय ४३ गोल पूरा गरेका हुन्। बार्सिलोना र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दा मेसीले पेलेको कीर्तिमानमा बराबरी गरेका हुन्।
आफ्नो कीर्तिमानमा बराबरी गरेसँगै पेलेले मेसीलाई एक सन्देश दिएका छन्। पेलेले इन्स्टाग्रामबाट मेसीको प्रशंसा गर्दै उनलाई बधाई दिएका हुन्।
‘जब हामी असाध्यै माया पाउँछौ तब बाटो परिवर्तन गर्न मुश्किल हुन्छ। तिमीजस्तै मलाई नि थाहा छ, प्रत्येक दिन एउटै जर्सी लगाउनुमा कति मज्जा छ,’ उनले भनेका छन्, ‘हामीलाई घर जस्तै लाग्ने ठाउँभन्दा राम्रो ठाउँ अर्को हुनै सक्दैन।’
‘ऐतिहासिक कीर्तिमानको लागि तिमीलाई बधाई। बार्सिलोनामा तिम्रो सुन्दर करियरको लागि झन् धेरै बधाई,’ पेलेले लेखेका छन्, ‘एउटै क्लबलाई लामो समयसम्म माया गर्ने हाम्रोजस्तो कथा फुटबलमा थोरै मात्र हुन्छ। म तिम्रो असाध्यै प्रशंसा गर्छु।’