नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम गलत रहेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सत्तारुढ दलका उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटन गर्नु गलत र भर्त्सनायोग्य रहेको बताएका हुन्।
गौतमले जारी गरेको प्रेस नोटमा संसद्को कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत संसद् विघटन गर्ने निर्णय लोकतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने उद्देश्यले प्रेरित रहेको उल्लेख छ।
‘नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सना योग्य छ, यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ,’ गौतमले भनेका छन्।