प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थाहा पाएपछि संसद् विघटनको निर्णय लिएको पाइएको छ।
सरकारको सर्वत्र आलोचना भइरहेका बेला अविश्वासको प्रस्ताव पनि दर्ता भएपछि ओलीले अर्को असंवैधानिक बाटो लिएको खुलेको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८९ जना सांसद्ले संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन्। राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्ति जारी गरी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेको जानकारी दिएका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गरी मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणको र वैशाख २७ गते सोमबार दोश्रो चरणमा प्रतिनिधिसभाका निर्वाचनको मिति तोकिएको उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए।
प्रधानमन्त्री बिहान ९ः४५ बजे मन्त्रीहरूलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए। सो बैठकमा ओलीले ताजा जनादेशका लागि संसद् विघटनको प्रस्ताव ल्याएका हुन्।
हेर्नुहाेस् ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता भएकाे अविश्वास प्रस्ताव