अमेरिकाको लुसियाना राज्यको मारेरोमा ३ महिने बालिका हत्याको आरोपमा आमा पक्राउ गरेकी छिन्। आमाले खुवाउँदा ३ महिनाकी बालिकाको मृत्यु भएपछि हत्याको अभियोगमा आमा पक्राउ परेकी हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बालिकाको मृत्यु मेथाम्फेटामाइनको ओभरडोजका कारण भएको पाइएपछि आमालाई पक्राउ गरिएको हो।
अटम ब्लान्सेट नामकी ३१ वर्षकी ती महिलाले आफूले मेथाम्फेटामाइन ड्रग्स र गाँजा सेवन गरेर छोरीलाई दूध खुवाएको स्वीकार गरेकी छिन्। बालिकाको अटोप्सी रिपोर्टमा उनको शरीरमा उच्च मात्रामा मेथाम्फेटामाइन पाइएको थियो।
११ डिसेम्बरमा ती बालिकाको हत्या भएको ठहर गरिएको थियो। पछि सोधपुछका क्रममा ब्लान्सेटले आफूले मेथ र गाँजा सेवन गरेर छोरीलाई दूध खुवाएको स्वीकार गरेकी थिइन्।
अधिकारीहरुले ब्लान्सेटको घरमा दुवै लागूऔषध पनि बरामद गरेका छन्। यसअघि इण्डियानामा पनि एक महिलाले मेथ सेवन गरेर छोरालाई दूध खुवाएपछि २ महिनाका छोराको मृत्यु भएको थियो।
त्यसपछि उनलाई पनि पक्राउ गरी मुद्दा चलाइएको थियो। पक्राउ परिएकी महिलालाई अदालत उपस्थित गराइने बारे कुनै जानकारी उपलब्ध गराइएको छैन।