नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीमा असर नपार्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले सोमबार प्रेस वक्तव्य जारी गरी कसैले पार्टी एकता भत्काउन नसक्ने प्रष्ट पारेका हुन्। एकताका पक्षमा उभिन उनले अपिल गरेका छन्।
‘पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन,’ प्रचण्डले भनेका छन्।
अध्यक्ष प्रचण्डले संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने उल्लेख गरेका छन्।
पार्टी एकतालाई कमजोर बनाउनेहरूविरुद्ध एकताबद्ध भएर उभिन पनि सबैलाई अपील गर्दै प्रचण्डले भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन।’
संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु अहिलेको ऐतिहासिक कार्यभार रहेको प्रष्ट पार्दै प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि सबैलाई अपिल गरेका छन्।