प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पार्टीकै नेताहरूका कारण संसद् विघटन गर्नुपरेको दावी गरेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार दिउसो राष्ट्रका नाममा सम्बोधन गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित आफ्नो विपक्षमा रहेको नेताहरूमाथि संगीन आरोप लगाएका हुन्।
‘सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरू असंगत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरूद्वारा सिर्जना भएको हो,’ ओलीले भने।
२०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने उद्घोष गरिएको ओलीले स्मरण गरे।
‘यो निर्णय आमनिर्वाचनमार्फत् आमजनताद्वारा स्पष्ट रुपमा अनुमोदन भएको थियो,’ ओलीले भने, ‘तर, निर्वाचन पश्चात् राष्ट्रिय राजनीतिलाई जनअपेक्षा अनुरुप अगाडि बढ्न नदिने विभिन्न विसंगत गतिविधि शुरु भए, शुरुमा सरकार गठनमा बिलम्व गराउने, जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ र दबाबमा राष्ट्रिय राजनीतिलाई अल्झाउने त्यति बेलाका गतिविधिहरू तपाईको सम्झनामा ताजै छन् भन्ने ठान्दछु।’
प्रधानमन्त्री ओलीले सरकार संविधान र संघीयताको कार्यान्वयनमा केन्द्रित भएका बेलामा पार्टीका नेताहरूबाटै घेराबन्दीमा परेको दावी गरेका छन्।