नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद् विघटन हुनु दलाल पुँजीवाद सत्ता र संसदीय व्यवस्थाको असफलता प्रमाणित भएकाे बताएका छन्।
महासचिव विप्लवले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फाँसीवादको सहारा लिएर संसद् विघटन गर्ने कदममार्फत् आफ्नो संकट टारेको बताएका हुन्।
‘नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य थियो,’ विज्ञप्तिमा लेखिएको छ।
विप्लव नेतृत्वको नेकपाले संसद विघटनले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टि गरेको जानकारी दिँदै पूर्णरुपमा असफल भएको संसदीय व्यवस्थाको गोल चक्करबाट नयाँ समाधान नहुने प्रष्ट पारेको छ।
नेकपाले यो संकटको समाधान र शान्ति, स्थिरता, समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको र त्यसका लागि एकजुट हुन सबैलाई आग्रह गरेको छ।
‘यो संकटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चावन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै सम्पूर्ण नागरिकहरुलाई आमूल परिवर्तनकारी संघर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौं।’