नेपाली कांग्रेसको आह्वानमा सानेपामा बसेको तीन दलको बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ। नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको संयुक्तरुपमा विरोध गर्ने निर्णय गरेका छन्।
‘प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ,’ नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन्।’
‘तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन्। बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालगायतका नेताहरूकाे सहभागीता थियो।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल सामेल भएका थिए।